शैक्षिक विकासलाई मध्य नजर गरेर ‘बाल कला साहित्य महोत्सव’ आयोजना गरेका छौँ–सिएम रिमाल

मकवानपुर, २३ पुस । मकवानपुरको हेटौँडामा यही पुस २५ गतेदेखि २६ गतेसम्म ‘हेटौँडा बाल कला साहित्य महोत्सव–२०७६’ हुँदैछ । नवोदय शिशु सदन, काठमाडौँ पब्लिकेशन र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा हेटौँडा ४ कमल डाँडामा महोत्सव हुने भएको हो । अहिले महोत्सवको तयारी कस्तो हुँदैछ अनि के छ यसका आकर्षणहरु ? यस बारेमा कार्यक्रमका संयोजक, साहित्यकार एवम् शिक्षक सिएम रिमालसँग रेडियो अनमोलका बालकृष्ण दाहालले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
बाल कला साहित्य महोत्सवको तयारी कस्तो हुँदैछ ?
–तयारी लगभग अन्तिम चरणमा पुगेको छ । केही विद्यालयहरुबाट आवेदन आउने क्रम जारी छ । अहिलेसम्ममा करिब २५ वटा जति विद्यालयहरुबाट आवेदन आईसकेको छ । काठमाडौँ, चितवन, बुटवल, सिराहा, भैरहवा, जनकपुर लगायतका विद्यालयहरुबाट पनि आवेदन आउने र दर्ता गर्ने क्रम जारी छ । यसर्थ हामी तयारीको अन्तिम चरणमै पुगिसकेका छौँ ।

बाहिरी जिल्लाहरुबाट पनि आवेदन आउँदै रहेछ । कति वटा जिल्लालाई समेट्ने तयारी छ ? कति वटा विद्यालयलाई पत्रचार गर्नुभएको छ ?
– हामीले पत्रचारचाहिँ जिल्लाभन्दा बाहिर कतैपनि गरेका छैनौँ ।। तर काठमाडौँबाट १०–१२ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरु आउने कुरा रहेकोछ । चितवन तथा छिमेकी जिल्ला बाराबाट पनि सहभागीहरु आउने कुरा छ । हामीले पत्राचार भन्दा पनि हेटौँडामा एउटा बाल कला महोत्सव हुँदैछ, हामी जानुपर्छ भनेर उहाँहरु स्वईच्छिक रुपमा आउन चाहानुभएको छ, त्यसलाई हामीले सहर्ष स्विकारेका छौँ ।

भनेपछि बाहिरी जिल्लाबाट पनि सहभागी हुनेछन् ?
–हजुर हो, गतवर्षको महोत्सवमा १–२ वटा जिल्लाका विद्यालयहरुले सहभागिता जनाएका थिए । तर यसपालि भने २०–२५ वटा विद्यालयहरु सहभागी हुने अनुमान गरेका छौँ ।

यो कस्तो खालको महोत्सव हो ?
–यो विशेष गरी बालबालिका, शिक्षक तथा अभिभावक र यसपालीदेखि चाहिँ विभिन्न विद्यालयका प्रधानाध्यापकहरु सहभागी हुने कार्यशाला समेत हो । यो साहित्य लेखनमा लाग्न चाहाने विद्यार्थीहरुका लागि विशेष प्लेटफर्म हो । यहाँ विभिन्न बाल साहित्यकार, स्थानीय साहित्यकार, हाम्रै विद्यालयका शिक्षक लगायतले केही कार्यशालाहरु गराउनुहुन्छ । विभिन्न विद्यालयबाट आउने विद्यार्थीहरुलाई करिब २ घण्टा कार्यशालामा सहभागी गराएर प्रयोगात्मक रुपमा साहित्य लेख्न सिकाउँछौँ र प्रयोगात्मक रुपमै उनीहरुलाई लेख्न पनि लगाउँछौँ । त्यसकारण यो विशेष गरी बालबालिकासँगै जोडिएको कार्यशाला अथवा महोत्सव हो ।

यो महोत्सवको आवश्यकता किन महशुस गर्नुभयो ?
–पछिल्लो समयमा मल्टिमिडिया (सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदि) मा बढीजसो बालबालिकाहरु झुम्मिने अवस्था आएको छ । एकप्रकारले ‘घोप्टे युग’ सुरु भएको छ । यसलाई बिस्तारै हटाउनका लागि र पठन सँस्कृतिको विकास गराउनका लागि यो महोत्सवको आयोजना गरिएको हो । त्यस्तै साहित्य लेखेर पनि बाँच्न सक्ने अवस्था छ भन्ने उदाहरण पनि हामी दिन चाहान्छौँ । विशेष गरी विद्यार्थीहरुमा सृजनात्मक पठन सँस्कृति र कलाको विविध पक्षको विकास गराउनु , पहिचान सहितको आत्मानिर्भरता गराउने, समयसापेक्ष विचार सहितको तार्किक क्षमताको विकास गराउने र मौलिक सिर्जनात्मक तथा शैक्षिक क्षेत्रको आम विकासमा सहयोग पुराउने कुरालाई अवगत गर्दै हामीले यो महोत्सव आयोजना गरेका हौँ ।

महोत्सव धेरै प्रकारका हुन्छन्, यो महोत्सव अलि फरक किसिमको देखिन्छ । के छ यसको मुख्य आकर्षणहरु ?
–यसमा मूर्धन्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, जो राष्ट्रिय र सामाजिक चेत लिएर अगाडि बढ्नुभएको छ, उहाँहरुको उपस्थिति रहनेछ । उहाँहरु कलाकार मात्र नभई बाल साहित्यकार समेत हुनुहुन्छ । हरिवंशको ‘गोल्ड मेडल’ र मदनकृष्णको ‘साझा पृथ्वी’ नामक बालकृति पनि रहेको छ । यस्ता कृतिहरुका कारण बालबालिकामा सकरात्मक पक्ष र सुचनात्मक पक्षको विकास भएको पाएका छौँ । उहाँहरुको जस्तो कृतिका कारण बालबालिकामा पठन सँस्कृतिको विकास हुन्छ । त्यस्तै युवा लेखकद्वय राधा पौडेल र अमर न्यौपाने आउँदैहुनुहुन्छ । उहाँहरु दुबै जना मदन पुरस्कार विजेता युवा लेखक हुनुहुन्छ । उहाँहरु लेखेरै स्थापित समेत हुनुभएको छ ।¬ त्यसका अलावा महोत्सवमा पुस्तक अन्तरक्रिया, पुस्तक प्रदर्शनी, कार्यशाला, फेस पेन्टिङ, पुतली प्रदर्शनी, लेखक हस्ताक्षर, चित्रकला प्रदर्शनी, वाल पेन्टिङ, नाटक प्रहसन, खाना स्टल, कविता वाचन, सांगितिक प्रस्तुति, प्यानल डिस्कसन र पुस्तक विमोचनका कार्यक्रमहरु समेत राखिएका छन् ।

गतवर्ष र यस वर्षको कार्यक्रममा के फरक छ ?
–अघिल्लो वर्ष हामीले जिल्लाका नगरभित्रका विद्यालयहरुलाई समेटेका थियौँ । तर यस वर्ष यसै कार्यक्रमलाई लक्षित गरी नगरका २ सरकारी र २ निजी विद्यालयमा ‘कफि हाउस’ नामक कार्यक्रम सञ्चालन गरेका थियौँ । जसले विद्यार्थीहरुमा सिर्जनात्मक विकास गराउन सफल भएको थियो । गतवर्ष प्यानल डिस्कसन थिएन तर यस वर्ष शिक्षामा कला र साहित्य किन जोडिनुपर्छ भन्ने विषयमा प्यानल डिस्कसन गर्दैछौँ । यसमा काठमाडौँका साहित्यकार र मकवानपुरका साहित्यकारहरु सहितको प्यानल डिस्कसन हुनेछ । यसमा मकवानपुरका चर्चित साहित्यकार निमेष निखिल पनि सहभागी हुँदैहुनुहुन्छ । त्यस्तै बालबालिकालाई नै केन्द्रित गरी बाल साहित्य कस्तो हुनुपर्छ भन्ने विषयमा विभिन्न ६ विद्यालयका विद्यार्थीहरुबिच प्यानल डिस्कसन हुँदैछ । अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ भन्ने विषयमा पनि विभिन्न विद्यालयका प्रअहरुबिच कार्यशाला हुँदैछ । गत पुष १० गते थाहा नगरपालिकाभित्रका करिब १ सय ५० विद्यार्थीलाई कार्यशालामा सहभागी गराई त्यहाँबाट केही विद्यार्थीहरुलाई पनि यस कार्यक्रममा सहभागिता गराउँदैछौँ । यो कार्यक्रम नवोदयले आयोजना गरेको भएता पनि यो सबै साहित्यकार र विद्यार्थीहरु, अभिभावक र शिक्षासँग सम्बन्धित सबैको कार्यक्रम हो । यसमा करिब ४० वटा विद्यालयहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

यसमा सहभागी हुन केही शुल्क लाग्छ कि ? महोत्सवको लागि कति खर्च लाग्ने अनुमान गर्नुभएको छ ?
–यो हामीले पूर्णरुपमा निःशुल्क बनाएका छौँ । गत साल करिब साढे ५ लाखमा हामीले कार्यक्रम सकाएका थियौँ तर यस वर्ष थप एक लाख लागत बढ्ने अनुमान गरेका छौँ । यसवर्ष बाहिरबाट थप साहित्यकारहरु समेत आउने भएका कारण स्वभाविक रुपमा लागत बढ्ने देखिएको छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
–विद्यार्थीहरुमा सिर्जनात्मक पठन सँस्कृतिको विकास गर्ने, शिक्षक र विद्यार्थीहरुको कार्यशालाको माध्यमबाट कला साहित्यको सिप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने, भाषा विकासका लागि कला साहित्यको सम्बन्ध र यसको प्रयोगलाई प्रोत्सहान गर्ने र किन पढ्नुपर्छ भन्ने अवधारणा विकास गराउँदै पढाईलाई जीवन उपयोगी बनाउन तथा सिर्जनात्मक प्रयोग गर्ने उदेश्यले हामीले कार्यक्रमको आयोजना गरेका हौँ । त्यस्तै घर, विद्यालय र पुस्कालयमा ज्ञानोपयोगी पुस्तकको अभिवृद्धि गराउँदै नयाँ पिढीलाई जागरुक गराउन, स्थानिय कला, साहित्य कला सँस्कृति,समाज विकासका लागि स्थानीय तह, शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवाला निकायहरुसँग विद्यालयस्तरबाटै बहस सिर्जना गर्न, नयाँ सर्जक र प्रतिष्ठित राष्ट्रिय सर्जहरुमाझ पुलको निर्माण गर्दै सहकार्य गर्नु र समाज निर्माणमा आउँदो पुस्ताको भूमिका महत्वपूर्ण हुने भएकोले राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चसम्म भूमिका खेल्न सक्ने बौद्धिक जनशक्ति निर्माण गर्न हामीले यो बाल कला साहित्य महोत्सवको आयोजना गरेका हौँ । यो विशुद्ध समग्र जिल्लाको शैक्षिक विकासलाई कसरी टेवा पुराउन सकिन्छ भन्ने उदेश्यले हामीले यो महोत्सव आयोजना गरेका छौँ । यसमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, सरोकारवाला र साहित्यकारहरुको विशेष भूमिका हुने भएकोले उहाँहरुलाई म आमन्त्रण गर्न चाहान्छु । यदि चिठी, फोन पुगेको छैन भने यही अनलाईनमार्फत म उहाँहरुलाई औपचारिक कार्यक्रममा सहभागी भईदिन म आग्रह गर्छु । त्यसदिन मह जोडी पनि आउनुहुनेछ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु