‘सेल्फी किङ’ राम्रो चलचित्र बनेको भन्दै नेपाली कलाकारहरुले गरे तारिफ
२३ माघ,काठमाण्डौ । यही माघ २४ गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ ले प्रिमियरमा नेपाली सेलिब्रेटीहरुबाट सुखद प्रतिक्रिया प्राप्त गरेको छ । बुधवार राजधानीको नयाँ बस पार्कमा सञ्चालनमा आएको आइएनआइ सिनेमाजमा आयोजित प्रिमियरमा उपस्थित फिल्मकर्मीहरुले अभिनेता विपिन कार्कीको अभिनयको मुक्तकण्डले प्रशंसा गरे ।
फिल्म हेर्न भुवन केसी, सन्तोष पन्त, निशा अधिकारी, विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, आर्यन सिग्देल, कर्मा शाक्य, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दीपेन्द्र के खनाल, रीमा विश्वकर्मा, केकी अधिकारीलगायत पुगेका थिए । फिल्म हेरेर निस्किँदै गर्दा प्रायः फिल्मकर्मीको आँखा रसाएका थिए । फिल्मको अन्तिम ३० मिनेट बुलन्द रहेको भन्दै सबैले विपिनको अभिनयको प्रशसा गरे ।
अभिनेता आर्यन सिग्देलले फिल्म राम्रो बनेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरे । ‘फिल्ममा हाँसो र रोदनको मिश्रण छ’, उनले भने । उनले फिल्मको कथावस्तुले कलाकारितामा लागेका व्यक्तिलाई बढी छुने बताए । अभिनेत्री नम्रतालाई पनि फिल्म ज्यादै मन परेछ । फिल्मले कलाकारको मर्मलाई बोकेको र त्यसलाई विपिनको अभिनयले जीवन्त बनाएको उनले बताइन् ।
त्यस्तै, अभिनेता कर्माले धेरैपछि फिल्म हेरेर रोएको बताए । ‘कलाकारलाई हेर्ने दृष्टिकोण र व्यक्तिगत जीवनमा सामना गर्नुपर्ने कुरालाई फिल्ममा राम्रोसँग देखाइएको छ’, उनले अगाडि भने, ‘फिल्मले मनोरञ्जनसँगै यथार्थलाई दर्शाएको छ ।’ फिल्मको ‘जाली रूमाल’ बोलको गीतमा नृत्य गरेकी अभिनेत्री केकी अधिकारीले फिल्मको हिस्सा हुन पाएकोमा खुसी व्यक्त गरिन् ।
‘फिल्मले कलाकारलाई मात्र होइन, जुनसुकै पेशामा आबद्ध व्यक्तिलाई पनि छुनसक्छ । म कलाकार भएकोले यसले अझै बढी छोयो । फिल्ममा कलाकारको मनोभाव, मनोदशा र मनोविज्ञानलाई मनछुने ढंगबाट देखाइएको छ,’ केकीले भनिन् । अभिनेत्री द्वय निशा र रीमाले पनि फिल्मको प्रशंसा गरे । त्यस्तै, निर्देशक दीपेन्द्र के खनालले फिल्म राम्रो र सरल बनेको प्रतिक्रिया दिए ।
फिल्मी खबरबाट