सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल ! (भिडियो सहित)

मकवानपुर । सुनै सुनले बनेको पहिलो अनौठो पाँचतारे होटल भियतनाममा खुलेको छ । यो कसरी बन्यो ? यसमा समय बिताउन कति खर्च लाग्छ ? हेर्नुहोस् यो अचम्मको भिडियो–

भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो । उक्त होटलका हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटलका झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट सबैमा स्वर्ण लेपन गरिएको छ । यतिमात्र होइन, उक्त होटलमा खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुन लेपन गरिएका छन् ।

उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरू रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ । होटलको लबीमा पनि फर्निचर तथा अन्य साजसज्जाका सामानहरूमा सुनकै लेपन गरिएको छ । बेडरूममा फर्निचर तथा अन्य सामानहरु, वासरुम, बाथटब, सिंक तथा सावरलगायतका सबै सामानहरू सुनले लेपन गरिएको छ । यी सबै कारणले गर्दा पूरै होटल नै स्वर्णमय देखिन्छ ।

सुनले बनेको उक्त होटलका कर्मचारीहरूले पहिरनसमेत रातो तथा सुनौलो रङको लगाउँछन् । उक्त होटलको छतमा इन्फिनिटी पुल बनाइएको छ । उक्त पोखरीको बाहिरी पर्खालमा लगाइएका इँटाहरूमा पनि सुनकै लेपन गरिएको छ । डोल्से हनोइ गोल्डेन लेक होटलको निर्माण सन् २००९ मा सुरु भएको थियो । सुनले बनेको यो होटलमा गएर रात बिताउनका लागि गोजीचाहिँ गरम नै चाहिने रहेछ । होटलमा एक रात बिताउन कोठाको न्यूनतम शुल्क ३२ हजार रुपैयाँ बराबरको रकम रहेको छ । त्यस्तै डबल बेडरुम सुइटको एक रातको १ लाख १२ हजार रुपैयाँ तिर्नुपर्दछ । होटलमा कल ६ प्रकारका कोठाहरू तथा ६ खाले सुइटहरू छन् । होटलको सबैभन्दा महँगो सुइटको रुपमा रहेको प्रेसिडेन्सियल सुइटमा एक रात बिताउनका लागि ७ लाख ३२ हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*