चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गरेर आजदेखि काठमाडौं उपत्यकासहित मुलुकभर सहुलियत पसल सञ्चालन भएका छन् ।
चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालनमा आएको हो ।
सहुलियत पसलमा नुन, चिनी, चामल, दाल, गेडागुडीलगायतका दैनिक उपभोग्य वस्तु खरिदमा छुट दिइने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोशनले र दुग्ध विकास संस्थानले सुपथ पसलमा आफ्ना उत्पादन बिक्री गर्ने छन् ।
चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिएर ७० रुपैयाँ कायम गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै नुन प्रतिकेजीमा २ रुपैयाँ छुट दिएर १८ रुपैयाँ कायम गरिएको छ । सुपथ पसलबाट प्रतिपरिवारले चिनी र नुन चार केजी खरिद गर्न पाउने छन् ।
यस्तै घिउमा प्रतिकेजीमा ५० रुपैयाँ छुट दिएर आठ सय ७० कायम गरिएको छ ।
चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि प्रत्येक वर्ष झै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयलकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।
यस्तै चामल, दाल, केराउ, तिते फापरमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ ।
सिमी प्रतिकेजी १० रुपैयाँ र खसीबोका(च्याङग्रामा १० रुपैयाँ छुट दिएको मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिहदरबार, सतुंगगल, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा सहुलियत पसल सञ्चालन गरिने छ ।
साथै घुम्ति सेवा र अनलाइनमार्फत सामान वितरण गरिने मन्त्रालयले जानकारी दिएको छ । उपत्यका बाहिर ४९ ठाउँमा सहुलियत पसल सञ्चालन गरिने छ ।
खाद्य कम्पनी र कर्पोरेशनले उपत्यका बाहिर रहेका आफना बिक्री कक्षबाट सहुलियतदरमा खाद्यान्न वितरण गर्ने छन् ।
सहुलियत पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुने छ ।