राष्ट्र बैंकले माग्यो दोस्रोपटक आवेदन

पौष १७ शुक्रबार । कोभिड प्रभावित व्यवसायीले ९८ अर्बको एकमुष्ट पुनर्कर्जाको पाउने, राष्ट्र बैंकले माग्यो दोस्रोपटक आवेदन
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकमुष्ट पुनर्कर्जाका लागि पुन आवेदन माग गरेको छ । केन्द्रीय बैंकले कोभिड प्रभावित उद्योगी व्यवसायीलाई लक्षित गर्दै दोस्रोपटक पुनर्कर्जाका लागि आवेदन माग गरेको हो ।

नेपाल राष्ट्र बैंकले पुस १७ गते शुक्रबार एक सूचना प्रकाशित गर्दै एकमुष्ट पुनर्कर्जाका लागि आवेदन माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले माघ १६ गतेसम्म एकमुष्ट पुनर्कर्जाका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले हालै मात्र ल्याएको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ अनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनर्कर्जाका लागि आवेदन माग गरेको हो ।

राष्ट्र बैंकले पुनर्कर्जाको यसअघिको व्यवस्था खारेज गर्दै गत साउनबाट नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ लागु गरेको थियो । यसअघिको पुनर्कर्जा व्यवस्थामा ग्राहक ऋणीअनुसार मात्रै पुनर्कर्जा प्रदान हुँदै आएकामा अहिले पुनर्कर्जाको कुल सीमामध्ये ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट आवेदन लिएर एकमुष्ट रुपमा उपलब्ध गराउने २० प्रतिशत ग्राहक ऋणीअनुसार प्रदान गर्ने र १० प्रतिशत लघुवित्तमार्फत प्रदान गर्ने गरी कार्यविधिमा व्यवस्था गरेको छ ।

सहुलित दरको पुनर्कर्जा धेरैभन्दा धेरै व्यवसायीले प्रयोग गर्न सकून् भनेर एकमुष्ट पुनर्कर्जाको प्रतिग्राहक ऋणीको अधिकतम् सीमा पाँच करोड र ग्राहक ऋणीअनुसार राष्ट्र बैंकले स्वीकृत गर्ने पुनर्कर्जाको अधिकतम सीमा २० करोड छ ।

नेपाल राष्ट्र बैंकसँग पुनर्कर्जा कोषमा ४२ करोड स्रोत छ । पुनर्कर्जा कार्यविधिमै उक्त स्रोतको ५ गुणासम्म लगानी गर्नसक्ने व्यवस्था छ । यस आधारमा पुनर्कर्जाका लागि दुई खर्ब १० अर्बको स्रोत छ । जसको ७० प्रतिशत एकमुष्ट पुनर्कर्जाका लागि दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकले यसअघि पनि भदौ दोस्रो सातादेखि असोज मसान्तसम्म आवेदन माग गरेर पुनर्कर्जा स्वीकृत पनि गरिसकेको छ ।

एकमुष्ट पुनर्कर्जाका लागि उपलब्ध स्रोत एक खर्ब ४८ अर्ब ५० करोड रहेको नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल बताउँछन् । “हामाीले एकमुष्ट रुपमा प्रदान गर्नसक्ने सम्पूर्ण पुनर्कर्जाका लागि अघिल्लोपटक आवेदन माग गर्दा ६९ अर्बको आवेदन परेको थियो ।

त्यसबाट ५० अर्ब ७ करोड स्वीकृत भयो, अहिले राष्ट्र बैंकले आवेदन माग गरेको भनेको बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटलको २० प्रतिशत अर्थात् ९८ अर्बबराबरका लागि आवेदन माग गरेको हो,” ढकालले भने, “पहिलोपटक राष्ट्र बैंकले साना ऋणीलाई प्राथमिकता दिनुपर्छ भनेर १५ लाखसम्मको कर्जा ७० प्रतिशत हुनुपर्छ भन्ने थियो, प्रथमपटकमै लघु घरेलु तथा साना उद्यम क्षेत्रमा प्रथमपटकमै करिब सम्बोधन भयो अब छिटफुट मात्रै बाँकी रहेछन्, त्यसैले अबको पटक ५ करोडसम्मको जुनसुकै आवेदन दिन सकिन्छ ।”

यसपटक अपेक्षाकृत रुपमा आवेदन पर्ने अपेक्षा रहेको उनले बताए । बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटलको २० प्रतिशत पुग्ग्नेगरी प्रतिशाखा न्यूनतम पाँचवटा ग्राहक ऋणी समेटेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । राष्ट्र बैंकको यसअघिको वर्गीकरणअनुसार कोभिडबाट अति र मध्यम प्रभावित क्षेत्रमध्ये पुनर्कर्जा कार्यविधिले पुनर्कर्जाका लागि तोकेका क्षेत्रका उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिने सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*