पीएम कपमा शतक प्रहार गर्ने बागमती प्रदेशका खेलाडीलाई १० हजार

३ माघ, काठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघले काठमाडौंमा शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा शतक बनाउने आफ्ना प्रदेशका खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

संघले पीएम कपमा शतक हान्ने खेलाडीलाई १० हजार र अर्धशतक प्रहार गर्ने खेलाडीलाई ५ हजार दिने संघका सचिव दुर्गाराज पाठकले जानकारी दिए । यस्तै खेलमा ५ विकेट लिने खेलाडीलाई ५ हजार र ३ विकेट लिने खेलाडीलाई ३ हजार दिने संघले जनाएको छ ।

यस्तै संघले आफ्नो प्रदेश टिमको हरेक खेलाडीको प्रतियोगिता अवधिभर ५ लाख बराबरको बिमा पनि गरेको जनाएको छ । यसैगरी बागमती प्रदेश खेलकुद विकास परिषद्ले बागमती प्रदेशको टिममा रहेका खेलाडीलाई ट्रयाकसुर्टसमेत प्रदान गरेको छ । साथै खेलाडीलाई प्रत्येक म्याचको २ हजार भत्तासमेत प्रदान गर्ने जनाएको छ ।

यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान र बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्ल बागमती प्रदेश खेलकुद परिषदको सदस्य नियुक्त भएका छन् । बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले मल्लाई पाँच वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।

यसअघि नै मल्लाई सदस्य पदक नियुक्त गरिसके पनि शनिबार त्रिवि मैदानमै पुगेर बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्य भण्डारीले मल्लाई नियुक्ति पत्र प्रदान गरेको हो ।

ज्ञानेन्द्र मल्ल, पारस खड्का, पृथु बास्कोटा, इशान पाण्डे जस्ता राष्ट्रिय खेलाडी रहेको बागमती प्रदेश पीएम कपको समूह बी मा छ । बागमतीले आफ्नो पहिलो खेल आइतबार विभागीय टोली नेपाल पुलिससँग कीर्तिपुरस्थित त्रिवि मैदान खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*