कृष्ण मन्दिर टोलले जित्यो भलिबल उपाधि
हेटौंडा, माघ १८-हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा शनिबार भएको फाइनल खेलमा कृष्ण मन्दिर टोल विकास संस्थाले जितेको छ ।
टोल विकास संस्था वडा समन्वय समितिको आयोजना गरेको लालहरि स्मृति वडास्तरीय भलिबल प्रतियोगितामा कृष्ण मन्दिर टोल विकासले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा तल्लो ताल टोल विकास संस्थालाई १५–२५, २५–१८, २५–२३ र २५– १४ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसगै कृष्ण मन्दिर टोल विकास संस्थाको टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता तल्लो ताल टोल विकास संस्थाले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा दुम्सिडाँडा टोल विकास संस्थाले सरस्वती टोल विकास संस्थालाई २५–२०, १८–२५, १९–२५, २५–१० र १५–१० को सेटमा पराजित गरेको छ । तेस्रो हुन सफल दुम्सिडाँडाले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन समारोह टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको थियो । समापन तथा पुरस्कार वितरण कार्यक्रममा वडा सदस्य रामचन्द्र न्यौपानेको पनि उपस्थिति रहेको थियो । प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ ले एक लाख रुपैयाँ र स्थानीय कमल थापाले प्रथम पुरस्कार प्रयोजन गर्नुभएको थियो । प्रतियोगिता शंकरज्योति मावि परिसरमा भएको थियो ।