म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता नियन्त्रणमा लियो
माघ १९, काठमाडौँ । म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी एनएलडी की नेतृ आङ सान सुकीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।
सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नेताहरुलाई पक्राउ गरेको केही घण्टापति सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ । सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ । सेनाप्रमुख ह्लाइङ २०७४ साल मंसिरमा नेपालको चारदिने औपचारिक भ्रमणमा आएका थिए । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका
थिए । भ्रमणका क्रममा उनी लुम्बिनी पुग्नुका साथै माउन्टेन फ्लाइटमा पनि गएका थिए ।