उत्तराखण्ड हिमनदी विस्फोट –११ जना नेपाली बेपत्ता

माघ २७, नयाँदिल्ली — भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीहरुमा आएको बाढीमा अझै ११ जना नेपालीहरु बेपत्ता छन् ।

उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको हराइरहेका १७५ जनाको सूचीमा एघार जना नेपाली रहेका छन् । सूचीमा तिनीहरुलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ । हराइरहेका नेपालीहरुमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात जना ऋषिगंगा जलविद्युत परियोजनामा र एक जना रेणी गाउँमा मजदुरी गर्दै आएका थिए । तीमध्ये तपोवन आयोजनामा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना खुलाइएको छ । उनको ठेगाना कैलालीको टकापुर उल्लेख छ ।

प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरुको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नगरिएको हुँदा थप नेपालीहरु बेपत्ता भएको हुनसक्ने आंशका गरिएको छ । यसअघि बेपत्ता भएका भनिएकाहरुमध्ये चार जना नेपालीको जीवितै उद्धार गरिएको थियो । उनीहरुलाई आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस ९आईटीबीपी० को उद्धार टोलीले जीवितै उद्धार गरेको थियो ।

आईटीबीपीका प्रवक्ता विवेक पाण्डेका अनुसार आइतबार साँझ ती चार जना नेपाली गरी जम्मा १२ जनालाई चमोली जिल्लाको तपोवनस्थित जलविद्युत्‌को सुरुङबाट जीवितै उद्धार गरिएको हो । उनीहरु धौलीगगांमा आएको बाढीले बगाएर ल्याएको हिलो र ढुंगाले निर्माणाधीन सुरुङमा फसेका थिए ।

बिहान दस बजेदेखि थुनिएका उनीहरुलाई साँझ पाँच बजे उद्धार गरिएको थियो । उद्धार गरिएका नेपालीहरुमा चित्रबहादुर, बसन्तबहादुर, सन्तबहादुर र किरणबहादुर भएको खुलेको छ । उद्धार गरिएका सबैको चमोलीस्थित आईटीबीपीको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता पाण्डेले कान्तिपुरलाई जानकारी दिएका छन् ।

उद्धार गरिएका बसन्तले आफ्नो स्थायी घर प्यूठान भएको आईटीबीपीद्वारा जारी एक भिडियोमा बताएका छन् । ‘मेरो घर प्यूठानको गौमुखीको रजगरा हो । तपोवनको आयोजनामा काम गर्दैथिएँ । अचानक बाढी आयो । बिहान दस बजेदेखि पाँचसम्म सुरुङमै थुनिएँ । साँँझ उद्धार भयो । मेरो स्वास्थ्य ठीक छ,’ उनले भिडियोमा भनेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*