म्यान्मारमा सैन्य कूविरुद्धको प्रदर्शन जारी

माघ २८ – म्यान्मारमा सेनाले गरेको कूका विरुद्ध लगातार पाँचौं दिन देशका विभिन्न शहरमा प्रदर्शनहरू भइरहेका छन् । सेनाले सत्ता हत्त्याएपछि अपदस्थ नागरिक सरकारमाथि दमन बढाउँदै लगेको छ ।

सैनिकहरूले हिरासतमा राखिएकी नेत्री आङ सान सू चीको पार्टी कार्यालयमा मंगलवार राति छापा मारेको छ । प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा, अश्रूग्यास र रबरको गोली प्रहार गरेको छ । राजधानी नेपीतमा एकजना चिकित्सकले बताएअनुसार, गोली चल्दा दुईजना गम्भीर घाइते भएका छन् ।

तर मानिसहरू अडिग भएर आन्दोलन गरिरहेको भिडियो फूटेजहरूमा देखिएको छ । बुधवार बिहान उनीहरूले एक प्रमुख राजमार्गमा नाकाबन्दी गरेका छन् । प्रहरीले गरेको दमनको भर्त्सना गर्दै संयुक्त राष्ट्रसंघका एक विशेष प्रतिवेदक टम एन्ड्रुजले एक युवतीलाई गोली हानेर घाइते बनाइएको जानकारी दिए ।

ती महिलाको तस्वीर अन्लाइनमा फैलिएपछि पीडा र आक्रोश व्यक्त गरिएको थियो । ती महिलालाई टाउकोमा गोली हानिएको थियो र उनी गम्भीर अवस्थामा सघन उपचार कक्षमा रहेको चिकित्सकले बताएका छन् ।

मान्डलेमा सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूमाथि ताकेरै अश्रूग्यास प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताए । विरोधकर्ताहरूले सू चीको नेसनल लीग फर डेमोक्रेसीको रातो झण्डा बोकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*