हेटौंडामा सहिद स्मृति फुटबल प्रतियोगिता हुँदै
फागुन १३, हेटौंडा– ‘ए’ डिभिजनका चर्चित आधा दर्जन क्लवसहितको सहभागितामा हेटौंडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।
ए डिभिजन क्लवका ६ वटा र स्थानीय चार वटा टिमसहित १० टिमको सहभागितामा हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा प्रतियोगिता हुने भएको हो । आयोजक मकवानपुर फुटबल संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेल प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिता चैत ७ गतेसम्म जारी रहनेछ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडिले नगद ५० हजार रुपैयाँ, विद्यागत उत्कष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ र म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।
कुल ९४ लाख ४० हजार ५ सय रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको लागि मकवानपुरका १० वटै स्थानीय तहहरुले गरी ६५ लाख रुपैयाँ सहयोग गर्नेछन् भने बागमती प्रदेश खेलकुद परिषद्ले ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रतियोगितामा प्रायोजकहरुबाट ६ लाख रुपैयाँ, टिकट विक्रीबाट १४ लाख ५० हजार रुपैयाँ तथा अन्य सहयोगबाट ३ लाख ९० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको कार्यक्रम संयोजक प्रताप विष्टले बताए ।