हेटौंडामा सहिदस्मृृति गोल्डकप प्रतियोगिताको तयारी पूरा
फागुन २४, मकवानपुर । मकवानपुरको हेटौंडामा यही फागुन २७ गतेबाट सुरु हुने स्थानीय तह सहिदस्मृृति गोल्डकप फुटबल, तेस्रो संस्करण २०७७ को तयारी पूरा भएको छ ।
प्रतियोगिता आयोजक मकवानपुर जिल्ला फुटबल संघ, मकवानपुरले आज पत्रकार सम्मेलन गर्दैै प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिएको हो ।
हेटौंडा उपमहानगरको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद दश लाख रुपैंया प्राप्त गर्ने छन् भने दोस्रो हुनेले पाँच लाख रुपैंया पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागत उत्कृष्ट खेलाडीले २५ हजार, म्यान अफ दि म्याचले दश हजारका दरले पुरस्कार पाउँनेछन् । प्रतियोगिताका लागि मकवानपुरका विभिन्न दश वटा स्थानीय तहले प्रायोजन गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाबाट पन्ध्र लाख, थाहा नगरपालिकाबाट दश लाख रुपैया सहयोग गरेका छन् । यस्तै, बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाबाट पाँच लाख रुपैंया सहयोग प्राप्त भएको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी विभिन्न दश वटा टिमले भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हेटौंडा रिगल रिसोर्ट मकवानपुर, नेपाल आर्मी, एपीएफ क्लव, नेपाल पुलिस क्लव, जवलाखेल युथ क्लव, संकटा क्लव, मछिन्द्र क्लव, बागमती युवा क्लव, सर्लाही, नव जागृती युवा क्लव सिमरा, अफ्रिन रुट्स एशोसिएनले गोल्डकपमा भाग लिनेछन् ।
खेलकुदका माध्यमबाट सहिदप्रति सम्मान प्रकट गर्ने, स्थानीय तहमार्फत समग्र खेलकुदको विकास र विस्तारमा अभिप्रेरित गर्ने, युवाहरुलाई फुटबलप्रति आकर्षित गर्ने गराउँने, मकवानपुरे खेलाडीहरुको क्षमता प्रष्फुटन गराउँने, खेल संस्था र स्थानीय तह एवं जनप्रतिनिधीबीचको सम्बन्ध गाढा बनाउने, अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरुलाई मकवानपुर तथा हेटौंडाको पहिचान गराउँने, स्थानीय व्यापार, व्यवसाय प्रबद्र्घनमा सहयोग गर्ने, औद्योगिक प्रतिष्ठान र व्यवसायिक क्षेत्रलाई खेलकुदमा लगानीका लागि अभिप्रेरित गर्ने, खेलप्रेमी महानुभावलाई फुटबलको माध्यमबाट मनोरन्जन प्रदान गर्ने उद्घेश्यले गोल्डकप प्रतियोगिता आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक प्रताप विष्टले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न ९४ लाख रुपैंया लाग्ने आयोजकले अनुमान गरेको छ ।