हेटौंडा अस्पतालका दुई डाक्टर बर्खास्त
चैत्र १, हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई बर्खास्त गरिएको छ ।
अस्पतालमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा. साजित अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालको नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिको शुक्रबारको बैठकले सेवाबाट बर्खास्त गरेको हेटौंडा अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा ड्युटीको समयमा निजि क्लिनिकमा काम गर्दै आएको र अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने काम गरेको पाईएपछि दुईजना डाक्टरलाई दुईपटक निलम्बन गर्दा पनि अटेर गरेपछी बर्खास्त गरिएको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।
यसअघि अन्सारी ड्युटीको समयमा पनि निजि क्लिनिकमा काम गरेको भेटिएको र पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने गरेको गुनासो पाइएकाले स्पष्टकीरण सोधिएको थियो । अस्पतालमा ड्युटीको समयमा निजि क्लिनिकमा काम गर्दै आएका दुईजना डाक्टरलाई दुईपटक निलम्बन गर्दा पनि अटेर गरेपछी बर्खास्त गरिएको अस्पताले जनाएको छ ।
अस्पतालका अध्यक्ष पौडेलका अनुसार अस्पताले बर्खास्त गरेको डाक्टरको ठाउँमा दुई डाक्टरको खोजि कार्य सुरु गरिसकेको छ ।