आज हेटौँडामा जारी गोल्डकपको फाइनल
चैत ७, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्टिय फुटबल प्रतियोगिताको उपाधिका लागि आज साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र विभागिय टोलि नेपाल आर्मी क्लब भिड्ने भएको छ ।
हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकपको शनिबार हुने फाइनल खेलको विजेता र उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार वितरण गर्ने भएका छन् ।
शुक्रबार प्रतियोगिता आयोजनास्थल हेटौँडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगितामा रिगल हेटौंँडा रिसोर्ट मकवानपुर–११ र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
बिहिबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा अफ्रिकन रुट्स एशोसिएसन डुवल क्यामरुनमाथि जित निकाल्दै आर्मीले मकवानपुर–११ सँगको उपाधि भिडन्त पक्का गरेको थियो ।
प्रतियोगिताको साविक विजेता मकवानपुर–११ बुधबार भएको पहिलो सेमिफाइनल खेलमा शहिद स्मारक एडिभिजन लिग विजेता मछिन्द्र क्लबलाई ४–३ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रिम्याच कन्फ्रेन्समा प्रतियोगितामा घरेलु टोली फाइनलमा पुगे पनि मकवानपुरका दर्शकले खेलका आधारमा जुनसुकै टिमलाई समर्थन गर्ने उल्लेख गर्दे मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले दुबै टिमलाई शुभकामना व्यक्त गरेका हुन् ।
त्यस्तै, प्रिम्याच कन्फ्रेन्समा आयोजक टिम मकवानपुर–११ का प्रशिक्षक विजयलाल श्रेष्ठले आफ्नो टिम जित्नका लागि खेल्ने बताएका छन् ।
यसैगरी, त्रिभुवन आर्मी फुटबल क्लबका व्यवस्थापन चुनबहादुर थापाले प्रतियोगिताको तयारीमा रहेको टिमका लागि विदेशी टोलीसहित राष्ट्रिय टिमका सदस्य रहेको मकवानपुर–११ सँगको फाइनल खेल महत्वपूर्ण हुने बताएका छन् ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।