आजदेखि हेटौंडामा बुद्धिचाल प्रतियोगिता – विजेतालाई दुई लाख ५० हजार

चैत ११, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आजदेखि राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता–२०७७ हुने भएको छ ।

मकवानपुर बुद्धिचाल सङ्घ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल सङ्घले जनाएको छ ।

प्रत्येक टोलीमा चार जना नियमित खेलाडी तथा एक जना वैकल्पिक खेलाडी र एक जना व्यवस्थापक गरी ६ जनाको सहभागी रहने जनाइएको छ । सहभागी टोलीले अनिवार्यरूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा महिलालाई समेत सहभागी गराइने तथा १६ वर्ष मुनिका खेलाडीलाई समावेश गराई प्रतियोगितामा फरकपन दिने आयोजकको भनाइ छ । प्रतियोगिता आजबाट चैत १४ गते शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले रु दुई लाख ५० हजार, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो स्थान हुनेले रु ५० हजार तथा चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः रु ३० हजार र रु २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न कुल १५ लाख ७२ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाबाट पुरुषोतम् चौलागाई, सुजना लोहनी, सुर्बिर लामा, रुपेश जैसवाल र छितिज भण्डारीको टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

सो टोलीले केही दिन अघि भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*