हेटौंडा राष्ट्रव्यापी अन्तर शहर बुद्धिचाल प्रतियोगिता सुरु

चैत १२, हेटौंडा – बागमती प्रदेश राजधानी हेटौंडामा राष्ट्रव्यापी अन्तर शहर बुद्धिचाल प्रतियोगिता २०७७ बुधबारबाट सुरु भएको छ । मकवानपुर बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो ।

बुधबार एक कार्यक्रमका साथ प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतियोगिताको उद्घाटन गरेका छन् । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत र मुख्यमन्त्री पौडेलले चेसको चाल चालेर प्रतियोगिताको सुरुवात गरेका थिए ।

प्रतियोगिता १४ गते शनिवार समापन हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल बुद्धिचाल संघ केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठले यो प्रतियोगिता अत्यन्तै महत्वपुर्ण प्रतियोगिताका रुपमा लिइएको वताउनुभयो ।

प्रतियोगिताका विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५० हजार, तेस्रो स्थान हुनेले ५० हजार तथा चौथो र पाचौँ स्थान हासिल गर्नेले क्रमशः ३० हजार, २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मकवानपुरका चेस खेलाडी तथा नेपाल बुद्धिचाल संघ केन्द्रीय सचिव धर्म लामाले प्रतियोगितामा महिलालाई तथा १६ वर्ष मूनिको खेलाडीलाई समावेश गराई प्रतियोगितामा फरकपन दिने बताए ।

स्विस लिग प्रणाली अनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल संघका सचिव नरेन्द्र भण्डारीले बताएका छन् ।

प्रत्येक टोलीमा ४ जना नियमित खेलाडी तथा १ जना वैकल्पिक खेलाडी र एक जना व्यवस्थापक गरी ६ जनाको सहभागि रहने भण्डारीले बताए । सहभागि टोलीले अनिवार्य रुपमा महिला खेलाडी वा १६ वर्ष भन्दा मुनि उमेरसमूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको सचिव भण्डारीले बताए । सिधाखवरबाट ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*