कर छलीको शङ्का लागेका व्यवसायीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

चैत १२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो ।

व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शङ्का लागेका व्यवसायीलाई सात दिनको समय दिएर विभाग बोलाइएको हो ।

विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार अहिले विभागले नयाँ सडक, लाजिम्पाट, पानीपोखरी महाराजगञ्जसम्म मूल सडक किनारामा रहेका पसलहरुको प्रतिनिधिमूलक रूपमा अनुगमन गरेको छ ।

व्यवसाय कर तिर्नेको तुलनामा बहाल कर तिर्ने करदाताको सङ्ख्या कम रहेको पनि अनुगमनका क्रममा देखिएको छ । विभागको अनुगमनमा सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, विभाग र वडाका कर्मचारी रहेका छन् ।

प्रतिनिधिमूलक यो अनुगमनपछि वडास्तरबाट अनुगमन टोली परिचालन गरिने विभागका प्रमुख डा अधिकारीले जानकारी दिए । जागरणमूलक र शिक्षामूलक कार्यक्रमबाट करदातालाई करका विषयमा जानकारी दिने र कानूनले दिएको अधिकार प्रयोग गरेर राजस्व असुली गर्ने कामपाको अबको योजना रहेको छ ।

करदाताको सहजताका लागि कामपाले गत असोज १ गतेदेखि १० वडाबाट र १३ गतेदेखि ३२ वटै वडाबाट अनलाइन राजस्व निर्धारण तथा सङ्कलन कार्य थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*