आधुनिक बन्दै भिखारीहरु, दान लिनका लागि डिजिटल भुक्तानी
बैशाख १६ – एकातर्फ चीन विश्वमै तीव्र गतीमा गरिबी निवारण गर्ने देश बनिरहेको छ भने अर्कोतर्फ चिनियाँ भिखारीहरु समेत दिन प्रतिदिन आधुनिक हुँदै गएका छन् ।
तपाईँलाई अनौठो लाग्न सक्दछ कि चीनका भिखारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि डिजिटल भुक्तानीको प्रयोग गर्न थालेका छन् ।चीनमा प्रविधिको तीव्र विकासका कारण मानिसहरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन बढेको छ । मानिसहरु नगद सित्तिमित्ति बोक्दैनन् । त्यसले भिख मागेर गुजारा चलाउनेहरुलाई असर पार्यो ।
दान गर्नेहरुको गोजीमा नगद रकम नहुने भएका कारण भिखारीहरुले दान पाउन छाडे । त्यहीँ समस्यालाई समाधान गर्नका लागि चिनियाँ भिखारीहरुले भिख माग्नका लागि डिजिटल वालेटको प्रयोग गर्न थालेका छन् । जसका कारण दान गर्न चाहेका लागि खुद्रा पैसा गोजीमा नभएको बहाना बन्न नपाओस् ।
फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टअनुसार चीनमा भिखारीहरु क्यूआर कोड भएको एक कागज हातमा लिएर सहरका पर्यटकीय स्थलदेखि शपिङ मल जस्ता ठाउँहरुमा उभिएका हुन्छन् । त्यस्ता ठाउँमा थुप्रै विदेशी पर्यटक तथा स्थानीय मानिसहरु समेत आउँदछन्, जसले भिखारीहरुलाई डिजिटल माध्यमबाट भिख दिने गरेका छन् ।
चीनका दुईवटा ठूला इवालेट कम्पनीहरुले भिखारीहरुलाई यस काममा सहयोग गरेका छन् । अलि पे र विच्याट वालेटले भिखारीहरुसँग सहकार्य गरेको बताइएको छ ।
भिखारीहरुले जसै क्यूआर कोडको माध्यमबाट दान लिन्छन् तब दाताको विवरणसमेत कम्पनीहरुले प्राप्त गर्दछन् । ती कम्पनीहरुले त्यस्ता डाटालाई विज्ञापनलगायतका लागि प्रयोग गर्ने गर्दछन् । स्मरण रहोस् यो वर्षको सुरुमै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई गरिबी मुक्त घोषणा गरेका थिए । चीन गरिबी मुक्त घोषणा गरिएको विश्वकै पहिलो देश पनि हो ।
चीन सरकारका अनुसार सन् १९७० को दशकयता चीनमा ७७ करोड मानिसले गरिबीबाट मुक्ति पाएका छन् ।