आज नेप्सेमा ६.३७ अंकले वृद्धि
जेठ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा समान्य वृद्धि भएको छ ।
यो साता आइतबारदेखि मंगलबारसम्म लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाएको नेप्से बुधबार भने दोहोरो अंकले करेक्सन भएको थियो । तर, आज साताको अन्मिम कारोबार दिन उतार–चढावबीच पुनः लयमा फर्कने प्रयास गरेको नेप्से ६.३७ अंकले वृद्धि हुँदा २७८७.१९ अंकमा बन्द भएको छ ।
बजार परिसूचक उकालो लागे पनि बुधरबारको तुलनामा कारोबार रकम भने घटेको छ । बुधबार अहिलेम्मकै उच्च एकैदिन करिब १२ अर्बको कारोबार भएको बजारमा आज ९ अर्ब २२ करोड ५५ लाखको कारोबार भएको छ । १ करोड ९९ लाख ७८ हजार ९५ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
जेठ ४ गते मंगलबार २७९३.८१ अंकमा ऐतिहासिक उचाइमा बन्द भएको नेप्से बुधबार १३.०९ अंकको करेक्सन हुँदा २७८३०.८१ अंकमा बन्द भएको थियो । आज बिहीबार प्रि–ओपन सेसनमा नै करिब १ प्रतिशतले बढेर २८०७ अंकको विन्दुमा खुलेको नेप्से आजको कारोबार दिनमा ओपनिङ विन्दुलाई नै उच्च विन्दु बनाउँदा २७७५ अंकसम्म झरेको थियो ।
बुधबार पटक–पटक २८०० अंकको विन्दु पार गरे पनि अन्तिममा घटेर बन्द भएको नेप्सेमा आज भने प्रि–ओपनिङ सेसनमा २८०० माथि खुले पनि त्यसपछि भने २८०० अंकको विन्दु पार गर्न सकेन ।
आज नेप्सेमा बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, वित्त कम्पनी, अन्य र म्युचअल फन्ड उपसूचक हरियो हुँदा त्यसबाहेकका सबै उपसूचक घटेका छन् । वित्त कम्पनी उपसूचक सर्वाधिक ६.१२ प्रतिशत, विकास बैंक उपसूचक ३.७ प्रतिशत र बैंकिङ उपसूचक ०.९५ प्रतिशतले बढेपछि हाइड्रोपावर र बिमा उपसूचकमा गिरावट हुँदा बजार परिसूचकले नयाँ उचाइ कायम गर्नबाट चुकेको छ ।
आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.५ प्रतिशतले गिरावट हुँदा लगानी उपसूचक ०।७२ प्रतिशतले घटेको छ । आज पनि नेप्सेमा कारोबार रकममा भने नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको ३४ करोड ७० लाख ४१ हजारको कारोबार हुँदा बैंक अफ काठमाण्डुको ३४ करोड १ लाख २५ हजार र नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड ४३ लाख ४८ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा ८ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बन्द भएको छ । सेयर म्ूल्य उच्च बढ्नेमा गुडविल फाइनान्स र मञ्जुश्री फाइनान्सको १० प्रतिशतले बढेको छ । यस्तै, समता घरेलु लघुवित्तसहित, गोर्खाज फाइनान्स, युनाइटेड इदी मार्दी हाइड्रोपावर, जानकी फाइनान्स, गुह्येश्वरी मर्चेनट बैंकिङ एन्ड फाइनान्स र मितेरी डेभलमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेको छ ।
यता, सेयर मूल्य घट्नेमा भने हाइड्रोपावर कम्पनीको अगाडि रहेका छन् । पाँचथर पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.५६ प्रतिशतले घट्दा खानीखोला हाइड्रपावरको सेयर मूल्य ४.७८ प्रतिशत, जोशी हाइड्रोपावरको ४.३३ प्रतिशत र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका १०० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७८ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।