‘यो नेपालको आन्तरिक मामिला हो’ -भारत
जेठ १२, हेटौंडा- भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विकासबारे जानकारी रहेको जनाउँदै ती सबै नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले आज जारी गरेको विज्ञप्तिमा उक्त समस्या प्रजातान्त्रिक संस्था र प्रजातान्त्रिक तवरले स्वयम् नेपाली जनताले नै समाधान गर्न सक्ने भन्दै कूटनैतिक भाषा प्रयोग गरिएको छ ।
नेपालको छिमेकी तथा मित्रराष्ट्रको नाताले भारत नेपाल र नेपाली जनताको सुख,शान्ति, समृध्दि र स्थायित्वको निम्ति सँधै सहयोग गर्न तयार रहेको पनि प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन् ।केही वर्ष अघिसम्म भारतले नेपालका हरेक राजनीतिक घटनाक्रमलगत्तै प्रतिक्रिया जनाउँदा विवादित बनेपछि अहिले केही समयपछि मात्र औपचारिक प्रतिक्रिया जनाउन थालेको हो ।
घटनाक्रमसँग उसको संलग्नता हुने भए पनि आफूलाई अलग रहेको देखाउन भारतले गत वर्षदेखि नयाँ रणनीति अपनाएको बताइन्छ ।