सेयर बजारमा कारोबार रकम र बजार परिसूचकमा नयाँ रेकर्ड

जेठ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन बिहीबार तीव्र उतार–चढावबीच सेयर बजार कारोबार रकम र बजार परिसूचक दुवैमा नयाँ रेकर्ड बनेको छ । गएको बिहीबार २८१५।४० अंकमा बन्द भएको नेप्से आज आइतबार १२.५४ अंकले बढेर २८२७.९३ अंकमा बन्द भएको छ ।

जेठ ११ गते मंगलबार २८२३.०७ अंकसम्म पुगेको नेप्सेमा बुधबार र बिहीबार समान्य करेक्सन भएको थियो । गत साता मात्रै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सट ट्रम ट्रेडिङमा रोक लगाएको तथा लघुवित्तको सेयर खरिदमा प्रतिबन्ध लगाएको छ । त्यस्तै, शनिबार आएका आर्थिक अध्यादेशले सेयर बजारमा १ वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्नेलाई लाभकरसमेत बढाएको छ ।

यसले सेयर बजारमा नकारानत्मक प्रभाव पर्ने अनुमानविपरीत बजारले एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ । बजार परिसूचकमा मात्रै नभएर कारोबार रकम पनि दिनप्रतिदिन बढ्दै गएको छ । सेयर बजारमा नेप्सेले मात्रै नभएर कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ ।

गत बिहीबार १४ अर्ब ७६ करोडको कारोबार भएको बजारमा आज उक्त रेकर्ड ब्रेक गर्दै १७ अर्बको कारोबार भएको छ । ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा आज नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजारको कारोबार भएको छ । जुन नेप्सेमा एकै कारोबार दिनमा भएको सबैभन्दा उच्च कारोबार हो ।

यसअघि, जेठ १३ गते बिहीबार १४ अर्ब ७६ करोड ८ लाख ८ हजारको कारोबार भएको थियो । ४ करोड १ लाख १३ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । आज प्रि–ओपन सेसनमा २० अंकले बढेर भएर २८३६.११ अंकमा खुलेको थियो । दिनभरजस्तो उतार–चढाव कायम भएको बजारमा ‘इन्ट्रा–डे’ कारोबारमा २८५४.८० अंकको उच्च विन्दुमा पुग्दा २८१४.७२ अंकसम्म झरेको थियो ।

राष्ट्र बैंकको निर्देशनले लघुवित्तसको सेयर घट्नेक्रम भने चलिरहेको छ । यस्तै, विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीलाई बैंकको ऋण तिर्न हकप्रद जारी गर्न दिने तयारी गरेको चर्चाले गर्दा लगानीकर्ता जलद्यिुत् कम्पनीको सेयर किन्ने ओइरिएका छन् । जसले गर्दा गत साताको अन्तिम कारोबार दिन उच्च दरमा बढेको र आज पनि सुरुवाती समयमा उच्च दरमा बढेको जलविद्युत् उपसूचक अन्तिममा भने लगानीकर्ताले नाफा बुक गर्दा सामान्य करेक्सन भएको छ । तर, कारोबार रकममा भने जलविद्युत् कम्पनी नै अगाडि रहेका छन् ।

आज नेप्सेमा अन्य उपसूचक सर्वाधिक २।४९ प्रतिशतले करेक्सन हुँदा लघुवित्त उपसूचक १।३७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०।०२ प्रतिशतले करेक्सन भएको छ । यता, विकास बैंक उपसूचक भने सर्वाधिक ७।३९ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त कम्पनी उपसूचक ५।०८ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ४ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ३।८७ प्रतिशतले बढेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा म्युचुअल फन्डलाई कर छुटको घोषण गरेसँगै म्युचुअल फन्डमा आकर्षण बढेको हो ।

आज कारोबार रकमको नेतृत्व जलविद्युत् कम्पनीले गरेका छन् । धेरै कारोबार हुने शीर्ष १० कम्पनीमा ९ वटा हाइड्रोपावर छन् । आज नेप्सेमा नेसनल हाइड्रोपावरको सर्वाधिक ४७ करोड ४० लाख ९० हजारको कारोबार भएको छ । यस्तै, अरुण काबेली पावरको ४६ करोड ९२ लाख ६४ हजार, युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लाख ४५ हजार र बुटवल पावर कम्पनीको ४१ करोड २८ लाख ५७ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा २० कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । अधिकांश विकास बैंकको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा केही हाइड्रोपावर, वित्त कम्पनीसहित दुईवटा होटेलको सेयर मूल्य पनि सर्किट लेभलमा बनद भएको छ ।

यता, सेयर मूल्य घट्नेमा भने जलविद्युत् कम्पनीको वर्चस्व रहेको छ । वरुण जलविद्युत् कम्पनी र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ६ प्रतिशतमाथिले घटेको छ । यस्तै, मिथिला लघुवित्त र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ५ प्रतिशतमाथिले घटेको छ ।

आज कारोबारमा आएका ९९ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, तीन कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*