विश्वकप छनोट- आज चाइनिज ताइपेइसँग भिड्दै नेपाल
हेटौंडा, जेठ २०- सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको छनोटअन्तर्गतका खेल खेल्नका लागि नेपाली टोली कुवेतमा छ। कुवेतमा नेपाली टोलीले तीन वटा खेल खेल्नेछ।
आज पहिलो खेल राति ९ः४५ बजे चाइनिज ताइपेइसँग खेल्न लागेको हो। कुवेतको जाबेर अल(हमाद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलका लागि नेपाली टोली तयारी पूरा भएको छ।
डेढ वर्षअघि चाइनिज ताइपेइलाई उसकै भूमिमा हराएको नेपालले आज पनि जित हासिल गर्ने विश्वास लिएको नेपाली टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुइतरीले जनाएका छन्। उनले भर्चुअल पत्रकार सम्मेलनमा दुवै टोलीका लागि यो खेल जित्न कठिन रहेको बताएका छन्।
नेपाली टोली सन्तुलित रहेको जनाउँदै उनले भनेका छन्, “हामी आजको खेल जित्न चाहन्छौं।” चाइनिज चाइपेइका प्रशिक्षक भोम कहुमले कुवेतको गर्मीले केही फरक परेको बताएका छन्। कोभिड-१९ का कारण चाइनिज ताइपेइको टोलीमा केही सिनियर खेलाडी नभएको पनि उनले बताएका छन्। जसले गर्दा केही कमजोर देखिएको भए पनि युवा खेलाडीले राम्रो प्रदर्शन गर्ने उनको विश्वास छ।