३८ अर्बको हाराहारीमा बजेट ल्याउने लुम्बिनी प्रदेश सरकारको तयारी

जेठ २४, बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८ र ०७९ का लागि ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाउने भएको हो ।

संघीय सरकारको अनुदान र प्रदेश सरकारको स्रोत व्यवस्थापन गरी चालु आर्थिक वर्षको तुलनामा केही ठुलो आकारको बजेट ल्याउने तयारी भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले रातोपाटीलाई बताए ।

चालु आर्थिक वर्षका लागि ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले बजेटको आकारमा केही वृद्धि गरी आगामी वर्षका लागि रकम विनियोजन गर्ने उनको भनाइ छ । उनले भने, ‘अहिलेको भन्दा ठुलो आकारमा बजेट ल्याउँछौँ तर अङ्क ठ्याक्कै यति नै हुन्छ भनेर अहिले भन्न सकिँदैन ।’

लुम्बिनी प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारको अनुदानमा केही वृद्धि भएको छ । त्यसैले पनि बजेटको आकार केही बढ्ने मन्त्री चौधरी बताउँछन् ।

भौतिक निर्माण र आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन लागिएको उनले बताए । प्रदेश सरकारले जेठ २५ गते प्रदेशसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने तयारी भएको छ ।

कोरोनाले शिथिल बनाएको अर्थतन्त्रलाई उकास्ने प्राथमिकता

प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथाममा केन्द्रित रहेर आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याउने मन्त्री चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*