कैलाश गाउँपालिकामा कोरियामा कार्यरत मकवानपुरे युवाहरुले गरे सहयोग

हेटौंडा, जेठ ३१। दक्षिण कोरियामा काम गरिरहेका मकवानपुरे युवाहरुले मकवानपुरका स्थानीय तहहरुलाई कोभिड १९ नियन्त्रणका लागि सहयोग पठाएका छन् ।

मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियामार्फत उनीहरुले पठाएको आर्थिक सहयोगबाट मञ्चले मकवानपुरका विभिन्न स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । सोमबार मकवानपुरको कैलाश गाउँपालिकालाई ५ थान अक्सिजन सिलिन्डर, १५ थान पल्स अक्सिमिटर, ३५ थान पिपिई सेट र ४० थान फेस सिल्ड हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुले कोभिड १९ नियन्त्रणका लागि देखाएको सक्रियता र चिन्ता अत्यन्त सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो । विदेश रहेर रातदिन दुःख गर्ने युवाहरुले स्वदेशलाई समस्या पर्दा लगाएको गुण राष्ट्रले बिर्सन नहुने उहाँको भनाई थियो ।

हस्तान्तरण कार्यक्रममा मकवानपुर कोरिया मञ्चका पूर्वअध्यक्षहरु दुर्गाप्रसाद दाहाल, राजकुमार गोले, रमेश उप्रेती, भाषा प्रशिक्षण केन्द्रका संचालक किशोर डंगोल, मन्चका संस्थापक सदस्य सुकुन्द आचार्य, बागमती एकता समाज कोरियाका संस्थापक अध्यक्ष किशोर ब्लोन लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानसहित ३ नं वडाध्यक्ष देवलाल बल, कटुन्जे स्वास्थ्यचौकीका प्रमुख आशा गुरुङ, भवानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर राना लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन लायन्स क्लव अफ हेटौडा मुक्तिनाथले गरेको थियो ।

कोरियामा रहेका मकवानपुरे युवाहरुसँग मकवानपुर कोरिया मञ्चका अध्यक्ष सूर्य रुम्बा र महासचिव शुभराज भोम्जनको अगुवाईमा सहयोग संकलन भएको हो । मञ्चले अन्य स्थानीय तहहरुलाई पनि सहयोग गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*