बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने बागमती प्रदेशको निर्णय

असार ४,हेटौंडा । बागमती प्रदेश विपत व्यवस्थापन निर्देशन समितिले विपतका घटना बढेकाले राहत र उद्धारमा जुट्न विपत व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय गरेको छ ।

बैठकले मनसुनी प्रभाव शुरु भइसकेको र सरदरभन्दा बढी वर्षा हुने सम्बन्धित निकायहरुबाट पूर्वानुमानसमेत भएको हुँदा बाढी, पहिरो, डुबान, भूक्षय जस्ता घटनाहरुबाट हुनसक्ने धनजनको क्षति न्युनीकरण गर्न आवश्यक तयारी, उद्धार तथा राहतका कार्यहरु प्रभावकारी बनाउन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको विपत व्यवस्थापन कार्यकारी समिति र प्रदेशका सबै मन्त्रालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

समितिले मनसुनबाट हुने क्षति रोकथाम तथा उद्धारका लागि प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र अन्तर्गत गोदामघरमा भएका उद्धार सामाग्रीको मौज्दातबाट वाग्मती प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुलाई न्युनतम उद्धार सामाग्री तत्काल पठाउने, गत असार १ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा गएको भिषण बाढीबाट पीडितहरुका लागि तत्काल खाद्यान्न व्यवस्थापन गर्नका लागि आवश्यक खाद्यसामाग्री जिल्ला विपत व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई उपलब्ध गराउने, मनसुनी वर्षाका कारण हुनसक्ने सम्भावित विपतका घटनाहरुलाई मध्यनजरगरी प्रदेश अन्तर्गतका सबै सुरक्षा निकायहरु उच्च सतर्कतामा रही खोज, उद्धार एवम् राहत वितरण कार्यमा तदारुकताकासाथ खट्न साथै सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्ने, प्रदेश विपत व्यवस्थापन कोषमा रु १० करोड रकम थपगर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई लेखी पठाउनेलगायत निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो ।

मन्त्री पाण्डेका अनुसार बैठकले विश्वव्यापीरुपमा फैलिरहेको नयाँ ‘भेरियन्ट’ सहितको कोभिड १९ सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारकार्य गर्न कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताबाट सिङ्गटी अस्पताल, दोलखालाई रु. २० लाख, नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई९धुलिखेल अस्पतालमार्फत० रु. २० लाख, नुवाकोट सिटी कम्युनिटी अस्पताललाई रु. ३० लाख, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुरलाई रु. ३५ लाख, मनमोहन मेमोरियल सामुदायिक अस्पताल, काठमाण्डौंलाई रु. ५० लाख र ख्वप अस्पताल, भक्तपुरलाई रु १ करोड रकम सामाजिक विकास मन्त्रालयमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*