नेप्से उच्च अंकले बढ्दा सेयरबजारमा फर्कियो हरियाल
असार ८, काठमाडौं- नेपाल धितोपत्र बोर्डको विज्ञप्तिपछि लगातार ओरालो लाग्दै आएको सेयरबजारमा आज उच्च अंकले बढेको छ
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा उक्लिएको छ। आइतबार र सोमबार नेप्से क्रमशस् ६३.११ र ७१.०६ अंकले घटेको थियो।
धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से परिसूचकमा निरन्तर गिरावट हुँदै आएको थियो। त्यो क्रम आज भने रोकिएको छ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १६.११ अंकले बढेर ५३६.२५ विन्दुमा कायम भएको छ।
मंगलबार नेप्सेमा १० अर्ब २८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा आज कूल २२५ वटा कम्पनीका एक करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर एक लाख १२ हजार ५० पटक खरिद(बिक्री भएका थिए।