बागमती प्रदेश सरकारद्वारा प्रहरीहरुलाई सवारी साधन उपलब्ध

असार १२, हेटौंडा — प्रदेशमा शान्ति सुरक्षा कायम गर्न र प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाउन भन्दै संघीय सरकार मातहतमा रहेको नेपाल प्रहरीलाई वाग्मती प्रदेश सरकारले करिब चार करोड मूल्यबराबरको सवारी साधनहरु उपलब्ध गराएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री केशव पाण्डेले शुक्रबार एक समारोहबीच प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामालाई १२ वटा पिकअप भ्यान र १६ वटा मोटरसाइकल हस्तान्तरण गरे । प्रदेश सरकारले उपलब्ध गराएको पिकअप भ्यान र मोटरसाइकल वाग्मती प्रदेशका १० जिल्ला मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा र रसुवालाई उपलब्ध गराएको प्रदेश प्रहरी प्रमुख लामाले बताए ।

प्रदेश सरकारले उपलब्ध गराएको सवारी साधनहरु जिल्लाको दुर्गम ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई दिएको प्रदेश प्रहरी प्रमुख लामाले जानकारी दिए । प्रहरी संगठनका क्षमता अभिवृद्धि गर्नका लागि ३ करोड ८० लाख ७३ हजार रुपैयाँमा पिकअप भ्यान र मोटरसाइकल खरिद गरेर प्रदेश प्रहरी प्रमुखलाई उपलब्ध गराएको आन्तरिक मामिला तथा काननु मन्त्रालय सचिव मदन भुजेलले बताए ।

संघीय सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजनका लागि तयार पारेको संगठन तथा व्यवस्थापन ९ओएन्डएम० प्रति आपत्ति जनाइरहेको भए पनि प्रदेश सरकारले भवन निर्माण, सवारी साधन खरिद, चेकिङ पोष्ट निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि एक अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ । हालसम्म करिब एक अर्ब रुपैयाँ प्रदेश सरकारले खर्च गरिसकेको छ ।

प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको शान्ति सुरक्षा व्यवस्थापन संघीय सरकार मातहत राख्ने गरी संघीय सरकार अगाडि बढेको भन्दै प्रदेश सरकारले प्रहरी समायोजन आफूहरुलाई अमान्य हुने बताइरहेको छ । यस्तो अवस्थामा उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका बाँकी १० जिल्लामा प्रदेश सरकारले उक्त बजेट खर्चेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*