वाग्मती प्रदेश सरकारको विकास खर्चको अवस्था ज्यादै कमजोर

असार १२, मकवानपुर — वाग्मती प्रदेश सरकारको विकास खर्चको अवस्था ज्यादै कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०७७र७८ को ११ महिनाको अवधिमा प्रदेश सरकारले कुल बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको करिब ४६ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालु आवमा विनियोजन गरिएको पुँजीगत अर्थात् विकास बजेट २६ अर्ब ५३ करोड ५५ लाख रुपैयाँमध्ये जेठ मसान्तसम्म ३६.१६ प्रतिशत अर्थात् ९ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ मार्त्र खर्च भएको छ । चालुतर्फ २२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ बजेट रहेकामा ४८.६५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ९२ लाख रुपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘सरकारले ८० प्रतिशत बजेट खर्च हुने अनुमान गरेको भए पनि हालको अवस्थामा लक्ष्यमा पुग्ने देखिँदैन,’ पाण्डेले भने । उनले खर्च हुने दर वैशाखमा भन्दा जेठमा करिब १० प्रतिशतले बढेको बताए । आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपाटी यो वर्ष पनि कायम छ । ‘प्रदेश सरकारको संशोधित बजेट खर्चको लक्ष्य पूरा हुन असार महिनाभर कुल बजेटको ३४ प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ । अरू समय भएको कामको पनि भुक्तानी असारमै हुने भएकाले धेरै खर्च हुनेछ,’ पाण्डेले भने । उनका अनुसार दैनिक भुक्तानीका लागि एक सयभन्दा बढी भौचरको काम भइरहेको छ । प्रदेश सरकार स्थापना भएको चार वर्षमा सरकार आफ्नो लक्ष्यअनुसारको खर्च र आम्दानी गर्न पूर्णरूपमा असफल भइरहेको छ ।

गत आवमा ५९ प्रतिशत मात्रै बजेट खर्च भएको थियो । गत आवमा चालुतर्फ ६०.९८ प्रतिशत अर्थात् १२ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ र पुँजीगततर्फ ५७.३५ प्रतिशत अर्थात् १५ अर्ब ५९ करोड ६१ लाख रुपैयाँ खर्च भएको मन्त्रालयकी प्रवक्ता विमला अधिकारीले जानकारी दिइन् । उनका अनुसार आव २०७६/७७ मा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेटमध्ये २८ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा ६० प्रतिशत बजेट खर्च भएको थियो । कोरोना महामरीका कारण विकास निर्माण प्रभावित हुँदा लक्ष्यअनुसारको खर्च गर्न नसकिने अवस्थामा पुगिएको प्रवक्ता अधिकारीको भनाइ छ । ‘कोरोनाका कारण धेरै विकास निर्माणका काम धेरै समय रोकिए । जसले गर्दा विकास बजेट मात्र नभएर चालु बजेट पनि लक्ष्यअनुसार खर्च भएको छैन,’ उनले भनिन् ।

उनका अनुसार मन्त्रालयले विभिन्न मन्त्रालयबाट खर्च नहुने शीर्षकको रकम तानेर कोरोना संक्रमण नियन्त्रण, न्यूनीकरण र उपचारमा खर्च गर्न सामाजिक विकास मन्त्रालयलाई रकम उपलब्ध गराएको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले विकास बजेट खर्चबाट आफू सन्तुष्ट रहेको बताए । ‘कोरोनाका कारण लक्ष्यअनुसार खर्च नभए पनि अझै काम भइरहेको छ । आशा गरौं लक्ष्यमा पुगिन्छ,’ उनले भने ।

आगामी आव २०७८/७९ का लागि प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट सदनमा पेस गरिसकेको छ । आगामी आवमा चालुतर्फ कुल बजेटको ४५ प्रतिशत अर्थात् २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ ५१ प्रतिशत अर्थात् २९ अर्ब ७० करोड ४३ लाख र वित्तीय व्यवस्थातर्फ चार प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ छुट्याइएको छ । तर प्रदेशसभा बैठक बस्न नसक्दा सदनमा छलफल भने अगाडि बढेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*