मकवानपुरमा पिसिआर परीक्षणको संख्या घट्नुको साथै संक्रमित संख्या पनि घट्यो
असार १५, हेटौंडा । मकवानपुरमा पिसिआर परीक्षणको संख्या घट्नुको साथै कोभिड १९ कोरोना भाइरस पुष्टि हुनेको संख्या पनि घटेको छ ।
असार १४ गते सोमबार ३८ जनाको स्वाब परीक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार पुष्टि हुनेमा ८ जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना थाहा नगरपालिका भित्रका रहेका छन् । जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घटे संगै कोरोना परीक्षणको दर पनि घटेको हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।
जिल्लामा कोरोना जित्नेको संख्या बढेको र कोरोनाको लक्षण देखिएर स्वाब परीक्षणको लागि आउनेको संख्या पनि घटेको निरीक्षक चौलागाईंले बताए । यसैबिच आज कोरोना परीक्षणको लागि ६१ जनाको स्वाब संकलन भएको निरीक्षक चौलागाईंले बताए । उनका अनसार स्वाब परीक्षणको रिपोर्ट साँझसम्म आउनेछ ।
मकवानपुरमा हालसम्म १० हजार ९ सय ५० जनामा कोरोना पुष्टि भएकोमा ९ हजार ७ सय ६९ जना संक्रमण मुक्त अर्थात कोरोना निको भइसकेका छन् । जिल्लामा हाल एक हजारको संख्यामा सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय २७ जनाले ज्यान गुमाएका छन् ।