अफगानिस्तानमा जारी हिंसामा २७ बालबालिकाको मृत्यु
एजेन्सी । अफगानिस्तानमा पछिल्लो समय चर्केको हिंसाका बीच २७ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले हालै सार्वजनिक गरेको तथ्यांकमा अफगानिस्तामा जारी हिंसामा तीन दिनको अवधिमा २७ बालबालिका मारिएको र सयौं जोखिममा परेको जनाइएको छ ।
पछिल्ला दिन कान्दाहर, खोस्त र पाक्तिया प्रान्तमा कम्तीमा २७ बालबालिकाको ज्यान गएको र १ सय ३६ बालबालिका घाइते भएको तथ्यांकले देखाएको छ ।
अमेरिकी नेतृत्वको विदेशी सैनिक फिर्ता भएसँगै चर्केको संघर्षका कारण बालबालिका मारमा परेको भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ ।
तालिवान बिद्रोहीले गत शुक्रबारदेखि तीव्र पारेको शहर केन्द्रीत आक्रमणका क्रममा सयौं सर्वसाधारण पलायन भइरहेका छन् ।
अन्तर्राष्ट्रिय समुदायले युद्धविरामको आह्वान गरे पनि तालिबानले अस्वीकार गरेको छ ।