पारस खड्का र प्रधानमन्त्री देउवाबिच भेट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी पारस खड्काले भेट गरेका छन् ।
क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारसले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको दुई सातापछि पारसले प्रधानमन्त्रीसँग भेटे गरेका हुन् ।
पारसले प्रधानमन्त्रीसँग क्रिकेट विकासको बारेमा छलफल भएको जनाएका छन् ।
प्रधानमन्त्रीले क्रिकेट विकासमा सहयोग गर्ने आश्वासन दिएको समेत पारसले सामाजिक संजालबाट बताएका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक संजालबाट दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता नभुल्ने बताउँदै क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन्।
यस्तै प्रधानमन्त्री देउवाले पारसलाई नेपाल र नेपालीको शिर उँचो बनाउन दोस्रो इनिङमा पनि सफलताको शुभकामना दिएका छन्।
३४ वर्षीय अलराउण्डर पारसले साउन १९ गते अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
सन्यास घोषणा गर्दै पारसले आफु क्रिकेटमा फरक भूमिकामा देखिने बताएका थिए ।
पारसले सन् २००४ मा १५ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गरेका थिए ।
पारसले नेपालका लागि १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
नेपाली क्रिकेटका सफल कप्तान पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भएका थिए ।
पारसकै कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टी(ट्वान्टी विश्वकपमा नेपालले प्रतिस्पर्धा गरेको थियो ।