काबुल बिस्फोटमा मृतकको संख्या ९० पुग्यो

अमेरिकन भन्दा धेरै तालिबान सदस्य मारिएको तालिबानको भनाई

एजेन्सी । तालिबानले बिहीबार साँझ काबुल विमानस्थलमा भएको बम आक्रमणमा अमेरिकी भन्दा धेरै आफ्ना सदस्यहरु मारिएको बताएको छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार काबुल विमानस्थलमा भएको हमलामा तालिबानका कम्तीमा पनि २८ सदस्य मारिएका छन्।

तालिबानका एक अधिकारीले भने, ‘काबुल विमानस्थलमा अमेरिकन भन्दा धेरै हाम्रा मानिसहरु मारिएका छन्।’

यो हमलापछि पनि उनले अमेरिकी सेनाले ३१ अगष्टपछि अफगानिस्तामा रहनुपर्ने कुनै आवश्यकता नरहेको बताए।

बिहीबार साँझ काबुल विमानस्थल नजिकै भएका विस्फोटमा परी अहिलेसम्म कम्तीमा ९० जनाको मृत्यु भएको छ। ती मध्ये १३ जना अमेरिकी सैनिक रहेका छन्।

इस्लामिक स्टेटको एक सहयोगी संगठनले यो हमलाको जिम्मेवारी लिएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा ९० जना भन्दा धेरैको ज्यान जाने गरी बम हमला गर्नेहरुलाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने वाचा गरेका छन्।

अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ बम हमला भएको थियो।

उक्त हमलामा परी हालसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ९० भन्दा बढीको ज्यान गएको पुष्टि भएको छ।

‘हामी माफ गर्ने छैनौँ। हामीले बिर्सने छैनौँ। हामी तिमीहरुलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ’, बाइडेनले भनेका छन्।

बम हमलामा ठूलो मानवीय क्षति भए पनि अमेरिकाले गरिरहेको हवाई उद्धार कार्य जारी नै रहने पनि राष्ट्रपति बाइडनले बताएका छन्।

‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ’, उनले भने।

बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै अगाडि भने, ‘हामी आतंकवादीहरुसँग डराउने छैनौँ।’

अफगानिस्तान छाड्ने अमेरिकी सैनिकहरुको अगस्टभरिको म्याद सकिँदै गर्दा तीव्र गतिमा चलिरहेको बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी यी विस्फोटहरु भएका हुन्। बिहीबारको विस्फोटमा ज्यान गुमाउनेमा बालबालिकाहरु पनि छन्।

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*