भारतविरुद्ध बराबरीको लागि नभई जित्नकै लागि खेल्छौं – अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन्।

बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध बराबरीको लागि नभई जित्नको लागि खेल्ने बताए।

भारत धेरै बलियो छ । इतिहास राम्रो छ । दुबै खेल जित्न आवश्यक छ । राष्ट्रिय टिमले खुसी बनाउने हैन गर्व गर्न लायक बनाउन आवश्यक छ, प्रि(म्याच कन्फरेन्समा अलमुताइरीले भने, हामी बराबरीको लागि खेल्ने छैनौँ । हामी जित्नका लागि खेल्छौं ।

नेपालले भारतसँग भोलि (बिहीबार) पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५स्३० बजे सुरु हुनेछ ।

यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।

प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध भविष्य हेरेर प्रतिस्पर्धा गर्ने बताए । वरीयताले टिमलाई असर नगर्ने समेत उनले बताए ।

ईतिहास हैन, भविष्यलाई हेरेर खेल्नेछौँ । ईतिहास र वरीयताले असर गर्ने छैन । उनीहरु बलिया छन् तर हामी सच्चा गोर्खाली हौँ,उनले भने ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

प्रशिक्षक अलमुताइरीले टिमको मुख्य लक्ष्य पनि साफ भएको समेत बताए ।

दुई महिनाबाट प्रशिक्षण गरिरहेका छौँ । हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो । यस खेलबाट शिक्षा लिने हो । गल्तिहरु साफमा सुधार गर्ने हो । हामी खेलका लागि तयार छौँ, उनले थपे ।

प्रशिक्षक अलमुताइरीले आफुले टिमका खेलाडीलाई मानसिक रुपमा परिवर्तन गर्ने खोजेको समेत बताए । उनले भारतविरुद्ध नयाँ खेलाडीले मौका पाउने समेत बताए ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने बताए । उनले खेलका लागि टिम तयार भएको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*