आज नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बिहीबार भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह ५:३० बजे सुरु हुनेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुने तालिका रहेको छ।
बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन्।
भारत धेरै बलियो छ । इतिहास राम्रो छ । दुबै खेल जित्न आवश्यक छ। राष्ट्रिय टिमले खुसी बनाउने हैन गर्व गर्न लायक बनाउन आवश्यक छ, बुधबार आयोजित प्रि(म्याच कन्फरेन्समा अलमुताइरीले भने, हामी बराबरीको लागि खेल्ने छैनौँ । हामी जित्नका लागि खेल्छौं ।
फिफा वरीयतामा भारत नेपाल भन्दा माथि रहेको छ। पछिलो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ।
यस्तै भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ।
तर, प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध भविष्य हेरेर प्रतिस्पर्धा गर्ने समेत बताए।
ईतिहास हैन, भविष्यलाई हेरेर खेल्नेछौँ। ईतिहास र वरीयताले असर गर्ने छैन । उनीहरु बलिया छन् तर हामी सच्चा गोर्खाली हौँ, उनले भने।
नेपालले पछिल्लो पटक भारतसँग २०१७ को जुन ६ मा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा भारत २-० ले विजयी भएको थियो।
नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो। अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रंगशालामा नेपालले भारतलाई २-१ ले हराएको थियो।
नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको दुबै खेल कठिन हुने बताए।
भारतसँग खेल कठिन हुनेछ । किनकि भारतसँगको खेल मैले जति खेले कहिले जितेको छैन। घरेलु मैदानमा खेल्न गईरहेका छौँ तर पक्कै पनि खेल कठिन हुनेछ, किरणले भने।
यस्तै भारतका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको खेल सधै कठिन हुने बताए।
हाम्रो लागि खेल सधै कठिन हुन्छ । हामी उत्कृष्ट दिने छौँ । हामीलाई निमन्त्रणा गर्नु भएकोमा धेरै धन्यवाद, उनले भने ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने तर खेलका लागि टिम तयार रहेको बताए।