नीति सच्याउने राष्ट्रबैंकका गभर्नरको प्रतिवद्धतालगत्तै उछालियो शेयरबजार
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग भएको वार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो ऋणको व्यवस्था सच्याउने प्रतिबद्धता जनाएलगत्तै शेयरबजार उछालिएको छ ।
मन्त्री र गभर्नरबीच आज बिहान भएको वार्तासम्बन्धि खबर सार्वजनिक भएलगत्तै पछि सूचकले छलाङ मारेको हो । दिउँसो साढे १ बजेतिर बजार १२० अंकले उकालो लागेको हो ।
आइतबार १४७ अंकसम्मले बजार घट्दा लगानीकर्ता आत्तिएका थिए । राष्ट्रबैंकको नीतिले बजार ओरोलो लागेको भन्दै सोमबार कतिपय शेयर लगानीकर्ता त बालुवाटारमा विरोध प्रदर्शन गर्न नै पुगेका थिए ।
राष्ट्र बैंकले सेयर धितो ऋण एउटै संस्थाबाट ४ करोड र धेरै संस्था भए १२ करोडभन्दा बढी लिन नपाइने नीति ल्याएपछि ओरालो लाग्न थालेको बजार थामिएको थिएन । बरु आइतबार त पहिरो नै गएपछि लगानीकर्ता आत्तिएपछि अर्थमन्त्रीले सोमबार गभर्नरलाई फोन गरेर शेयर धितोसम्बन्धि व्यवस्था सच्याउन भन्नुभएको हो ।
अर्थमन्त्री र गभर्नरको टेलिफोन वार्ता र राष्ट्र बैंकले व्यवसायको हकमा शेयर धितो कर्जाको सीमा लागू नहुने जनाएपछि बजार उकालो लागेको हो ।
अर्थमन्त्रीको सचिवालयका अनुसार, अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको थियो ।