चौंथो संस्करणको ईपीएल आजबाट सुरु हुँदै ,उद्घाटनमा ललितपुर र काठमाडौं भिड्दै
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल मध्यान्न १२:१५ बजे सुरु हुनेछ ।
कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशलले पाएको हो ।
ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।
काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन् ।
ललितपुर र काठमाडौंबीचको पछिल्लो भेटमा ललितपुर बलियो देखिएको छ । ललितपुरले यस अघिको तीन भेटमा जित निकालेको थियो ।
चौंथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।