नँया भेरियन्ट पुष्टि , के नेपालमा फेरि ‘लकडाउन’ होला त ?

काठमाडौँ । मङ्सिर ३ मा दक्षिण अफ्रिकाबाट काठमाडौँ आएका दुई जनामा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । यसअघि देखिएको ‘डेल्टा’ भेरियन्टभन्दा सङ्क्रामक मानिएको ओमिक्रोन देखिएसँगै सर्वसाधारणले फेरि ‘लकडाउन त हुँदैन ? ’ भनेर चिन्ता गर्न थालेका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रणको योजना बनाउने र मन्त्रिपरिषद्लाई सिफारिस गर्ने अधिकारप्राप्त निकाय हो, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० । सो केन्द्रकी प्रवक्ता (सह सचिव) सुनिता नेपालले लकडाउनमा जानेभन्दा पनि सुरुवातमा स्वास्थ्य मापदण्ड अपनाएर आफैँ सतर्क हुने निर्णय गरेको बताइन् ।  सह सचिव नेपालले भनिन्–‘सम्बन्धित मन्त्रालय र स्थानीय निकायले पहिलेकै स्वास्थ्य मापदण्डको आधारमा सुरक्षा सतर्कताको तयारी गरिरहेका छन्, मुलुक बाहिरबाट आउनेलाई क्वारेन्टिनको व्यवस्था गरेका छौँ ।’

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका यसअघिका प्रमुख सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । सचिव रामप्रसाद थपलियालाई केन्द्र प्रमुखको जिम्मेवारी दिने तयारी गरिएको प्रधानमन्त्री कार्यालयका एक जना उच्च अधिकृतले  बताए ।

नाकामा हेल्थ डेस्कहरूलाई क्रियाशील बनाउने र बाहिरबाट आएकाहरूलाई कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्ने निर्णय सीसीएमसीसीले गरेको छ । बिरामी भएकाहरूलाई टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएमा नयाँ भेरियन्ट हो कि, होइन भनेर स्वास्थ्य मन्त्रालयले जिन सिक्वेन्सिङ गरिरहेको छ ।

ओमिक्रोन भेरियन्टको निगरानीका लागि के गर्दैछ सरकार ? 
​कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य मन्त्रालयले गरेको जोखिम विश्लेषणका आधारमा लकडाउन गर्ने वा नगर्ने भन्नेबारे निर्णय गरिने बताए । अहिले प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव अर्याल भन्छन्– ‘नयाँ भेरियन्ट थप छिर्न र फैलन नदिन स्वास्थ्य सतर्कता मुख्य कुरा हो, लकडाउन तत्काल के होला र ? ’

स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउनमा जाने योजना नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता सह सचिव डा। समीरकुमार अधिकारीले भने–‘तत्काल लकडाउनको विकल्पमा जानेबारे सरकारले सोचेको पनि छैन, लकडाउन गर्नुपर्ने परिस्थिति फरक हुन्छ ।’

ओमिक्रोन भेरियन्ट फैलिएपछि सरकारसँग भएका उपायहरूले धान्न सक्ने स्थिति भएसम्म लकडाउनमा जान सिफारिस नगर्ने डा। अधिकारीले बताए । उनले भने–‘स्वास्थ्य पूर्वाधार र जनशक्तिले धान्न नसकेको खण्डमा मात्रै लकडाउन गर्ने स्थिति आउने हो, अहिले त्यो स्थिति छैन ।’

नौ देशबाट प्रवेशमा रोक

ओमिक्रोन भेरियन्टको जोखिम कम गर्न मन्त्रिपरिषद्ले ९ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । मन्त्रिपरिषद्ले मङ्सिर १३ मा दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।

त्यसअघि गृह मन्त्रालयले मङ्सिर १२ मा अफ्रिका महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन को जोखिमका अफ्रिकाका नागरिकलाई रोक लगाउने निर्णय गरेको अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईले रातो पाटीलाई बताए ।

सोमबार ओमिक्रोन पुष्टि भएका दुईजना दक्षिण अफ्रिकाबाट मङ्सिर ३ मा नेपाल आएका थिए । नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भएका ६६ वर्षीय विदेशी र उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय नेपालीले कोरोना विरुद्धको खोप लगाएका थिए । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*