हेटौंडासँग सीमाना जोडिएको पालिकामा अटोको भाडादर तोक्ने तयारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले अटोको भाडादर समायोजन गर्न असफल भएका बेला गाउँमा भने अटोको भाडादर समायोजन गर्ने तयारी भएको छ । हेटौंडामा तत्कालिन नगरपालिका हुँदादेखि नै अटोको भाडादर समायोजन गर्ने प्रयास भएको थियो । विगतमा अटोको भाडादर तोकिएपनि त्यसको कार्यान्वयनमा हेटौंडा उपमहानगर– पालिका चुक्दै आएको छ । नगरमा अटोहरुले मनलाग्दी भाडा लिएको बारे उपमहानगरमा गुनासो पुग्दापनि भाडादर कायम गर्नेदेखि त्यसलाई कार्यान्वयन गर्नमा भने उपमहानगरपालिका असफल बनेको थियो । अब हेटौंडासँगै सीमाना जोडिएको मकवानपुरगढी गाउँ– पालिकाले अटोको भाडादर तोक्ने तयारी गरेको छ ।

गाउँपालिकाभित्र सञ्चालित अटोले मनलाग्दी भाडा लिएको गुनासो गाउँपालिकामा गरेपछि कार्यालयले भाडादर समायोजन गर्ने तयारी गरेको हो । यद्यपि गाउँपालिकाले अटो व्यवसायीलाई छलफलमा बोलाएपनि उनीहरु उपस्थित नभएको जनाइएको छ । गाउँपालिकाले चाडपर्व अघि नै अटोको भाडादर तोक्ने तयारी गरेको थियो । अटो व्यवसायी र गाउँपालिकाबीच छलफल हुन नसक्दा भाडा समायोजन हुन सकेको छैन् । गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंले अटोको भाडादर समायोजन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले यातायात व्यवसायीहरुलाई छलफलमा बोलाएपनि बैठकमा उपस्थित नभएको बताए ।

पटक–पटक छलफलमा बोलाउँदा पनि व्यवसायीहरु नआउँदा गाउँपालिकाले बैठक बसेर भाडा समायोजन गर्न सक्ने बारे सचेत गराएका छन् । ‘व्यवसायीहरुले अटेर गरेपछि भाडदर समायोजनको बैठक स्थानीय तहमात्र बसेर भाडाको उचित निर्धारण र रुट निर्धारण हुनेछ ।,’ अध्यक्ष हुमागाईंले भने । हेटौंडाका विभिन्न स्थानबाट गाउँपालिकाको ५ र ६ नम्बर वडा, ३, ४ र २ नम्बर वडामा नियमित अटो सञ्चालन हुँदै आएका छन् । अटोहरुले मनलाग्दी भाडा लिने गरेका कारण स्थानीयले गाउँपालिकालाई भाडा समायोजनका लागि पटक–पटक आग्रह गर्दै आइरहेका छन् ।

अटो चालकहरुले आफ्नै तरिकाले यात्रुसँग भाडा उठाइरहेका छन् । त्यतिमात्र नभई अटो नै पिच्छे भाडापनि फरक–फरक हुने गरेको गुनासो आएको छ । यसरी अटो चालकहरुले मनलाग्दी भाडा उठाउन थालेपछि गाउँपालिकाले व्यवस्थित बनाउन खोजेको पाइएको छ । करिब ७ किलोमिटरको दुरीमा रहेको हेटौंडा–मक्रान्चुलीसम्मको भाडा अटोहरुले यात्रु हेरेर भाडा लिने गरेको पाइएको छ । निश्चित भाडा नतोकिँदा यात्रुहरु हैरानी भएका छन् । उक्त रुटमा अटो चालकहरुले यात्रु हेरी ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म भाडा लिने गरेको बुझिएको छ ।

गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा यातायात समिति गठन भएको थियो । तर, उक्त समितिले हालसम्म कुनै काम गर्न नसकेको पाइएको छ । समितिले कुनै काम अगाडि नबढाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको र अब कार्यान्वयन लगिने गाउँ पालिका अध्यक्ष हुमागाईंले बताए । गाउँपालिकाभित्र साझा यातायातका बस समयअनुसार सञ्चालनमा छन् । बसले उचित भाडा लिँदै आएको बताइएको छ । तर, अटो चालकहरुले बसका कारण अटोमा चढ्ने यात्रु कम हुने भएकाले खर्च उठाउनका लागि पनि भाडा लिने गरेको गैरजिम्मेवारी भनाई दिने गरेका छन् ।

अटो चालकहरुले सम्बन्धित निकायबाट नियमित अनुगमन नहुँदा र भाडादर नतोक्दा यात्रुहरु चालकको मुडमा भाडा तिर्न बाध्य भएका हुन् । मकवानपुरगढीमा स्थानीय तह गठन हुनु अघिका कच्ची सडकमा अटोले निले गरेका भाडा हालसम्म पनि कायमै छन् । तर, स्थानीयहरुले हाल पालिकाको अधिकांश क्षेत्रमा सडक पक्की भइसकेकाले भाडा घटाउनु पर्ने माग गरेका छन् । मक्रान्चुलीमा रहेको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीले पनि अटोको भाडादरको विषयमा कुनै चासो नलिएको बताइएको छ ।साझाकुराबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*