हेटौंडामा भ्रष्टाचार विरुद्ध प्रतिबद्धता हस्ताक्षर संकलन

हेटौंडा । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा हेटौंडामा भ्रष्टाचार विरुद्ध प्रतिबद्धता हस्ताक्षर संकलन गरिएको छ । नागरिक समाज मञ्च मकवानपुरले डेक नेपालको सहयोगमा बिहीबार हेटौंडास्थित सेवाग्राहीको चाप र आर्थिक कारोबार बढी हुने सरकारी कार्यालयहरुमा कार्यक्रम संचालन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा कार्यालय प्रमुख, कर्मचारीहरु, सेवाग्राही र नागरिक अभियान्ताको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुख भक्तबहादुर भण्डारी, सूचना अधिकारी राजु अर्याल, जिल्ला मालपोत कार्यालय हेटौंडाका प्रमुख रामचन्द्र भण्डारी लगायतले सहज सेवा र भ्रष्टाचार विरुद्ध प्रतिबद्दता जनाउँदै आमनागरिकपनि भ्रष्टाचार रोक्न सचेत हुनुपर्ने बताए ।

‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने प्रतिबद्धता सहित कार्यालय प्रमुख, कर्मचारी, सेवाग्राही, नागरिक अभियान्ताहरुले हस्ताक्षर गरी कार्यालयहरुको परिसरभित्र हस्ताक्षरसहितको फ्लेक्स राखिएको छ । कार्यक्रममा नागरिक समाज मञ्चकी संयोजक रमिला सापकोटा, सदस्य प्रकाश खतिवडा, डेक नेपालका मानबहादुर वाईबा लगायतले भ्रष्टाचार विरुद्ध सरकारी निकाय जिम्मेवार हुनुपर्ने भन्दै आमनागरिक पनि भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलतासाथ सेवा लिनुपर्ने बताए ।
‘हाम्रो अधिकार, हाम्रो भूमिकाः भ्रष्टाचार नगर्नु, नगराउनु’ भन्ने अन्र्तराष्ट्रिय नाराका साथ सरकारी कार्यालयहरुसँग समन्वय गरि नागरिक समाज मञ्चले दिवस मनाएको हो । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस हरेक बर्ष डिसेम्बर ९ तारिखमा मनाउँने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*