मकवानपुरगढीमा शिवम् को चरम लापरवाही

हेटौंडा । हेटौंडा १६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले कच्चापदार्थ चुनढुङ्गा उत्खनन गर्नका लागि मकवानपुरगढी गाउँपालिकामा रहेको खानीमा जथाभावि रुपमा उत्खनन् गर्दा स्थानीयले समस्यामा परेका छन् । खानीका कारण स्थानीयले आफ्नो घर, जग्गा राम्रोसंग उपयोग गर्न पाएका छैनन् भने वर्षायाममा खेत, बारी र घर बगाउने उत्तिकै चिन्ता रहेको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ ।

शिवम् ले गाउँपालिकाको वडा नंबर २,३,६,७ र ८ क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गर्दै ओभर बडेन यत्रतत्र फाल्दा सो क्षेत्रको जंगल समेत मासिएको छ । स्थानीयहरु समस्यामा परेका छन् । गाउँपालिकाको उक्त वडाहरुको हजारौ बोटबिरुवा र जडिबुटी मासिएको छ ।

शिवमले खानी उत्खनन गर्दा पुर्याउन पर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भुमी संरक्षण समिती मकवानपुरगढीका सचिव पुष्कर तिमल्सिनाले बताए ।

अव्यवस्थित खानीका कारण स्थानियहरुले वर्षौंदेखि विभिन्न किसमका सास्ती खेप्दै आईरहेका छन् । खानी क्षेत्रको स्थलगत अनुगमनपछी स्थानीय बासिन्दाहरु झनै त्रसित भएको पाईएको सचिव तिमल्सिनाले बताए ।

यसैबीच,समस्याको विषयमा स्थानीयहरुको पहलमा बसेको सर्बपक्षिय बैठकले खानी उत्खनन्मा भएको दुरुपयोग नियन्त्रण गर्नका लागि सहमती गरेका छन् ।

शिवम् सिमेन्टको प्रतिनिधि, मकवानपुरगढी गाउँपालिका प्रमुख, प्रतिनिधिमुलक वडाध्यक्ष र बस्ती संरक्षण समुहको प्रतिनिधि बीच गाउँकार्यपालिकामा भएको छलफलबाट शिवम् सिमेन्ट र गाउँपालिकाको अनुरोधमा पुस १९ गते पुनः खानी अवलोकनमा जाने र एकिन विवरण लिने र पुस ३० गते सम्ममा लिखित सम्झौता हुने सहमति भएको सचिव तिमल्सिनाले बताए ।

उनले उक्त सहमतिपछि आजबाट हुने भनिएको सम्पुर्ण खानी सम्बन्धि बन्दको कार्यक्रम हाललाइ स्थगित गरिएको समेत जानकारी दिए ।

केहि दिन अघि बस्ती तथा भुमी संरक्षण समिति मकवानपुरगढी टोलीले खानी क्षेत्रको अवलोकन गरेको थियो । खानी अव्यवस्थित रुपमा संचालन भएको भन्दै समितिले प्रतिवेदन तयार गर्दै उद्योगसंग १२ बुदेमा माग राखेको थियो ।

समितिले खानीबाट निस्कने प्रयोगमा नआउने कच्चापदार्थ सुरक्षित स्थानमा बोटविरुवा जडिबुटीहरुलाई असर नपर्ने गरि गाउँपालिका सँग स्वीकृतिलिई व्यवस्थापन गर्नुपर्ने, खानी उत्खन्न गर्दा वैज्ञानिक मापदण्ड अपनाउनु पर्ने, खानीका कच्चा पदार्थहरु जथाभावि डपिंग गरिएकोले उचित व्यवस्थापन गनुपर्ने र वडा नंबर १ देखि ८ वटै वडाका तटिय क्षेत्र पुर्ण जोखिममा रहेकोले संरक्षणको जिम्मा सम्बन्धित शिवम् सिमेन्टले लिनु पर्ने माग राख्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*