बकैयामा संचालित रिकभर परियोजनाले भुकम्प प्रभावितको जिवन स्तरमा सुधार

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा संचालित रिकभर परियोजनाले भुकम्प प्रभावितको जिवन स्तरमा सुधार आएको पाईएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर – ३, बसन स्थित परियोजना संचालित क्षेत्रको अनुगमनका क्रममा यस्तो पाईएको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले परियोजना संचालित क्षेको अनुगमन गर्नुका साथै लाभग्राहीसंग अन्तरकृया गरेको हो । सो क्रममा लाभग्राहीहरुले परियोजना मार्फत आयआर्जन र जीवनस्तर सुधार आएको बताएका छन् । उनिहरुले परियोजना मार्फत सिप विकास हुनुका साथै, पुननिर्माणमा सहजता प्राप्त भएको बताए ।

सो क्रममा जिसस प्रमुख खुलालले परियोजनाले राम्रो काम गरेको र अझै थप जिममेवार भएर काम गर्न सुझाव दिनुभयो । उहाँले सधै अरुकै भर पर्नु भन्दा यस्ता संस्थाले एक पटक गरेको सहयोगबाट दिगो रुपमा फाईदा लिन समेत सहभागिलाई सुझाव दिनुभयो । उहाँले बाँकी रहेका निजी आवास पुनर्निमाणको काम सकेर सरकारले दिने अनुदान समेत प्राप्त गर्ने तर्फ ध्यान दिन सहभागिहरुलाई आग्रह गर्नुभयो ।

सीआरएस नेपालको आर्थिक सहयोग तथा लुमन्ती नेपाल र सप्रोस नेपालको साझेदारीमा संचालित परियोजना मार्फत भूकम्पबाट प्रभावित आर्थिक तथा सामाजिक कारणले जोखिममा परेका बर्गहरुको जीवनस्तर सुधारका लागि आवास पुननिर्माणमा सहयोग, खानेपानी तथा सिंचाई योजनाहरुको निर्माणरपुननिर्माण तथा आयआर्जनमा सुधारका लागि तरकारी खेति तथा पशु पालनमा सहयोग कार्यक्रम संचालन भैरहेको छ ।

परियोजनामा आवास पुनर्निमाण तर्फ लुमन्ती नेपालले र आय आर्जनका लागि तरकारी खेति तथा पशु पालनमा सप्रोस नेपालले सहजीकरण गरिरहेको छ । परियोजना मकवानपुरको बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र भीमफेदी गाउँपालिकामा संचालनमा रहेको छ ।

परियोजना मार्फत बकैया गाउँपालिकामा ६७३ लाभग्राही मध्ये हालसम्म २१२ जनालाई तरकारी खेतीमा तालिम तथा बिउ सहयोग, २०४ जनालाई पुननिर्माणमा सहयोग, १७ जनालाई पुनिर्माण सम्पन्न गर्न थप सहयोग र ३४ परिवारलाई खानेपानीमा सहयोग, ४५ परिवारलाई २१५ रोपनी सिँचाई हुने सिंचाई योजनामा सहयोग गरेको छ । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, बकैया गाउँपािलकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, समन्वय अधिकारी आनन्दराज पोखरेल, बकैया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनी, भुकम्प पुनर्निर्माण प्राधिकरण भवनका ईन्जिनिीयर रविन पाठकलगायत परियोजनासंग सम्बन्धीत संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*