हुस्सु हटेसँगै त्रिभुवन विमानस्थलमा विहानदेखि रोकिएका उडान शुरू

काठमाडौँ । बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेपछि त्रिभुवन विमानस्थलमा विहानदेखि अवरूद्ध भएको उडान तथा अवतरण शुरू भएको छ ।

भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज उडान भएका थिएनन् । सामान्यता उडानका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिने गर्छ । अहिले सो भिजिबिलिटी पुगेपछि उडान शुरू भएको विमानस्थल प्रशासनले जनाएको छ ।

विदेशबाट आएर काठमाडौँ र सिमराको आकाशमा होल्ड भएका ४ विमानहरू अवतरण भएका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान भएको छ ।

यसअघि बिहान कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाएर होल्ड भएका थिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर लागेको बाक्लो हुस्सु बिहान ११ बजेपछि क्रमिक रूपमा खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*