सगरमाथा सहकारीको निक्षेप ७ करोड ८७ लाख
१७ पुस,हेटौंडा । हेटौंडा–४, पारिजातपथमा रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष आयुष कुमार डोटेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष साथै बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष देवकोटाले पानसमा दिप प्रज्वलन गरेर साधारणसभाको उद्घाटन गर्नु भएको थियो।
साधारणसभामा बोल्दै बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले सहकारी क्षेत्रमा पनि यस सहकारीमा जस्तै सक्षम युवा नेतृत्वको आबश्यकता रहेको औल्याउदै सहकारीले निकै फड्को मारि रहेको बताउनुभयो । साधारणसभामा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष डोटेलले आर्थिक वर्ष २०७७/७८ मा सेयर पुँजी ९३ लाख ६८ हजार रुपैयाँ रहेको जानकारी दिनुभयो ।
यस्तै सहकारीले ७ करोड ८७ लाख रुपैयाँ बचत संकलन गर्नुका साथै ५ करोड ५४ लाख रुपैयाँ ऋण लगानी गरेको जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम शर्मा पौडेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा संस्थाका लेखा समिति संयोजक उमेश पुरीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा सहकारीका संस्थापक अध्यक्ष भुवन कुमार भट्ट,असल ऋणी सरस्वती सापकोटा,उत्कृष्ट बचतकर्ता रमेश मानन्धरलाई सम्मान गरेको छ ।
कार्यक्रममा सहकारीका कानुनी सल्लाहाकार मुकुन्द अधिकारी,नेफ्स्कुन मकवानपुरका प्रतिनिधी,नबलपुर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रमेश बर्तौला लगायतको उपस्थिती रहेको थियो ।