आजबाट हेटौंडामा कोटीहोम महायज्ञ सुरु

हेटौंडा । आजबाट मकवानपुरको हेटौंडामा कोटीहोम महायज्ञ सप्ताहव्यापी कार्यक्रम सुरु हुने भएको छ ।

आज मंगलबारबाट हेटौंडा – १० स्थित गोरक्षश्वर मन्दिर परिसरमा हुने सप्ताहव्यापी कार्यक्रममा आज पहिलो दिन कलश यात्रा हुने आयोजक समितिका मूल समारोह समिति संयोजक महेन्द्र अधिकारीले जानकारी दिए ।

उनले आजबाट सुरु हुने कार्यक्रम अन्तर्गत पुस २७ गतेसम्म हरेक दिन हवन बिहान ६ बजेबाट ११ बजेसम्म र वाचन दिनको १२ बजे देखि ४ बजेसम्म,पितृमोक्ष गंगा आरती ४ बजे देखि ५ बजेसम्म तथा भजन किर्तन ५ बजेदेखि ६ बजेसम्म हुने बताए ।

२१ वर्ष पछि नेपालमै हेटौंडाबाट कोटिहोमको सुरुवात हुन लागेको धर्मपाल गुरु वशिष्ठले बताए । उनले हिन्दू धर्म रक्षा र संस्कृत जागरण अभियानको लागि कोटीहोमको सुरुवात गर्न लागिएको बताए । सोमबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कोटिहोमले हवन गर्दा उत्पन्न हुने वातावरणले वायुमण्डलाई पवित्र तुल्याउनले बताए ।

उनले पवित्र तुल्लाईएको वायुमण्डलबाट वर्षेने मेघले अतिवृष्टि नगराई बालीनालीको निमित्त स्वस्थ्यकर वर्षाद्को श्रृजना गर्न मदत पुग्ने बताए ।

धार्मिक स्थललाई विकास गर्न,गौ रक्षा,धार्मिक स्थलहरुको संरक्षण,गुरुकुलहरुको रक्षा,सन्त तथा धर्मगुरुहरुको रक्षा,गुरु गोरखनाथ,राष्ट्र गुरु योगी नरहरिनाथ,राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्र निर्माणमा सहयोग गर्न,राष्ट्र तथा धर्मरक्षाका लागि योगदान पुर्याउने उदेश्यले महायज्ञ गर्न लागिएको र महायज्ञमा आफुले सकेको सहयोग गर्न सकिने आयोजक समितिले जनाएको छ ।

आजबाट सुरु हुने महायज्ञ धर्मसभा विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रिय,श्रीराम भक्त हनुमान सेवा समिति,हेटौंडा(१० र श्री गोरक्षेश्वर क्षेत्र विकास समिति हेटौंडा(१० को संयुक्त आयोजनामा हुन लागेको हो । महायज्ञमा दैनिक हजारौ श्रद्धालुभक्तजनले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

महायज्ञ सप्ताह व्यापी कार्यक्रममा श्रीनिवासाचार्य,गुरु लहाक्पा लामा,केशव आचार्य दास,उमामहेश्वरी,विष्णु देव,ज्ञानी गुरु बखश सिंह,सुशिला दिदी,नेपाल केशरी मणिभद्र महाराज,धर्माचार्य कृष्णप्रसाद गुरागाई,सन्त माधव महाराज लगाएतले कथा प्रवचन गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*