बागमती सरकारले साना व्यवसायीलाई २ अर्ब रुपैयाँ ऋण दिने

हेटौंडा । बागमती सरकारले चालु आर्थिक वर्ष २०७८/ ७९ मा साना व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

कोरोना महामारीका कारण समस्यामा परेका कृषि, उद्योग, व्यापार, व्यवसाय तथा उत्पादन क्षेत्रलाई उत्थान गर्न सहुलियतपूर्ण ब्याज दरमा ऋण उपलब्ध गराउन सुरु गरिएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७र७८ बाटै विभिन्न क्षेत्रका व्यवसायीलाई तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आइरहेको छ । चालु आर्थिक वर्षको हालसम्म प्रदेशका तीन सय ३६ साना व्यवसायीले ३१ करोड ५३ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लिइसकेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार साना व्यवसायीले अधिकतम १० लाख रुपैयाँसम्मका दरले ३१ करोड ५३ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लिएका हुन् ।

प्रदेश सरकारले विभिन्न सात क्षेत्रमा काम गर्न चाहने साना व्यवसायीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आएको छ । कृषि, उद्योग, पर्यटन प्रवर्द्धन, व्यापार, वन तथा वातावरण, फोहोरमैला व्यवस्थापन र महिला तथा दलित समुदाय विकासका लागि वार्षिक ३ प्रतिशतभन्दा बढी ब्याज नपर्ने गरी अधिकतम १० लाख रुपैयाँका दरले सहुलियतपूर्ण ऋण प्रदान गरिरहेको आर्थिक मामिला तथा योजना मन्त्रालय सहुलियतपूर्ण ऋण सचिवालयका फोकल पर्सन विनोद विडारीले बताए ।

मन्त्रालयका अनुसार पाँच लाखभन्दा कम ऋण लिने साना व्यवसायीलाई साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र त्योभन्दा माथि १० लाख रुपैयाँसम्म ऋण लिनेका लागि कृषि विकास बैंकका शाखा कार्यालयबाट ऋण प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । ‘धेरै साना व्यवसायीले ऋण लैजानुभएको छ । हामीले पनि कृषि तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउन चाहेका छौं,’ विडारीले भने ।

चालु आर्थिक वर्षको मंसिरसम्म मन्त्रालयले ऋण लगानीका लागि कृषि विकास बैंकलाई २० करोड रुपैयाँ निकासा गरेको थियो । तर बैंकले सहुलियतपूर्ण ऋण कार्यक्रमअन्तर्गत ३१ करोड ५३ लाख रुपैयाँ लगानी गरिसकेको छ । मन्त्रालयले बैंकलाई थप ३० करोड रुपैयाँ निकासा गर्न आवश्यक प्रक्रिया पूरा गरिसकेको छ । बैंकले प्रदेशका १३ जिल्लाका ६५ शाखाबाट ऋण प्रवाह गरिरहेको छ ।

पाँच लाखभन्दा कम ऋण लिने व्यवसायीलाई साना किसान लघुवित्त वित्तीय सस्थांले १९९ सहकारीमार्फत ऋण प्रवाह गरिरहेको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा यस संस्थालाई ऋण प्रवाहका लागि २० करोड रुपैयाँ बजेट निकासा गरेको थियो । गत आर्थिक वर्षमा प्रदेश सरकारले दुई हजार ८ सय ६४ साना व्यवसायीलाई एक अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

गत आर्थिक वर्षमा सहुलियतपूर्ण ऋणका लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो । पहिलो वर्षमा किसानहरूलाई जानकारी नहुँदा एक अर्ब ८८ करोड रुपैयाँ बजेट फ्रिज भएको थियो । प्रदेश सरकारले यस्तो ऋण ५ वर्षसम्मका लागि उपलब्ध गराउँछ ।

यो समाचार कान्तिपुर दैनिकका लागि सुवास विडारीले लेखेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*