विभिन्न कारण देखाएर कप्तानबाट हटाउदा दुख लाग्यो – ज्ञानेन्द्र मल्ल
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर आफुलाई कप्तानबाट हटाउदा दुख लागेको बताएका छन् ।
टियु क्रिकेट मैदान मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउदा दुख लागेको बताएका हुन् ।
‘अलिकति दुख लाग्यो । जुन यत्रो वर्ष क्रिकेटलाई दिइयो । र, बिना कारण विभिन्न कुराहरु निकालेर गर्नु भयो । त्यसले अलिकति गार्हो भएको थियो, कप्तानबाट हटेपछि पहिलो पटक बोलेका मल्लले भने, ‘ किनभने कहिले पनि बोर्डको बिरुद्धमा जाने, बोर्डलाई निच बनाउने कहिले गरेको होइन । गर्ने भएको भए हामी अरु बाटो अपनाउने थियौं होला । जान्थ्यौं होला खेल्दिनौं थियौं होला । तर, यत्रो वर्षबाट केहि नहुदा पनि खेल्यौं । अरु अरु आरोपले गर्दा दुख लाग्यो ।
क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो।
मल्लले आफु सधै कप्तान बन्न नआएको समेत बताए । उनले आफु सधै देशको लागि र आफ्नो लागि खेल्ने बताए ।
‘आत्मसम्मानको कुराले गर्दा मलाई अप्ठ्यारो परेको थियो । म सधै भरिको लागि कप्तान हुन आएको पनि हैन । र, हुनुपर्छ भने पनि हैन । म देशको लागि खेल्छु मेरो लागि खेल्छु,’ मल्लले भने । मल्लले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको बताए ।
‘विवाद वर्गीकरणको कुराबाट नै सुरु भएको थियो । हामी चाहन्थ्यौ की बसेर कुरा गरौँ । पछिल्लो समय पनि यस्तै भएको थियो । विभिन्न कारण त्यो हुन सकेन । केहि कारणले मिडिया पुग्ने नियन्त्रण भन्दा बाहिर भयो । तर, हामी के चाहन्थ्यो भने उहाहरु आएर टेबल टल्क गरेर यसलाई समधान गरौ, मल्लले भने, किनकि वर्गीकरणको विषयमा ढिलो भईसकेको थियो । मापदण्डको विषयमा हामीलाई जानकारी थिएन । यस पटक सबलाई समावेश गरौँ छुटेका खेलाडीलाई पनि जाउ भन्ने थियो विभिन्न कारणले हुन सकेन । हामी यो विषय बाहिर भन्दा पनि भित्र बसेर सल्टाउन चाहिरहेका थियौं ।’
मल्लले खेलाडीको असन्तुष्टिलाई विवाद बनाईएको समेत बताए ।
‘विवाद समाप्त भएर हामी सबै यहाँ छौँ । विवाद भन्दा पनि एउटा असन्तुष्टि हो । बनाइयो, जस्तो भयो । अब खेलमा केन्द्रित हुनु पर्छ ,’ उनले भने ।
तर, मल्लले सबै कुराहरु बाहिर राखेर नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको समेत बताए ।
आफ्नो कुराहरु, इगोहरु बाहिर राखेर नेपाल क्रिकेटको भबिस्यको लागि र हामी सबैको लागि, महत्वपूर्ण प्रतियोगिता आउदैछ त्यसको लागि पनि एक ठाउमा बस्नु पर्छ भनेर हामीले नै क्रिकेट अगाडी बढाउन पर्छु उनले थपे, जे भयो भयो अबको दिनमा हाम्रो लक्ष्य भनेको अगाडी बढ्ने नै हो ।
यस्तै मल्लले टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको बताए ।
मलाई लाग्दैन की हामी एक अर्कासँग दुश्मनी लिएको । हामी खेलाडीहरु कोहि १० वर्षबाट सँगै खेलेका छौँ । कोहि भर्खर खेलिरहेका छौँ । घरेलु सँगै खेलेका छौँ, उनले भने, त्यस्तो मनमुटाब छ जस्तो लाग्दैन । भएको भए सायद यहाँ कोहि हुँदैन थियो होला ।