एसईई परीक्षा आउँदो वैशाखमा गर्ने तयारी

काठमाडौँ– कोरोना भाइरसको संक्रमण अध्ययन अध्यापन प्रभावित हुन गरी नफैलिएमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा आउँदै वैशाखामा लिने तयारी भएको छ ।

शिक्षा मन्त्रालयका अनुसार सामान्य अवस्थामा चैतमा शैक्षिक सत्र सकिने हुँदा आउँदो वैशाखमा एसईई परीक्षा लिने गरी तयारी भइरहेको हो । तर पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको र अवस्था थप गम्भीर बनेमा भने परीक्षा पछि धकेलिन सक्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् ।

‘सामान्य रुपमा पठनपाठन भएमा आउँदो वैशाखमा परीक्षा हुन सक्छ’, प्रवक्ता शर्माले भने, ‘तर संक्रमण बढ्दै गयो भने परीक्षा सो समयमा हुने अवस्था रहँदैन ।’

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले भने परीक्षाको मिति अहिलेसम्म तय नभएको र अहिले नै यसै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

अध्यक्ष शर्माले भने, ‘एसईई परीक्षालाई लिएर छलफल भइरहेका छन्, हामीले तयारी पनि गरेका छौँ । तर कहिले हुने वा कसरी भन्नेमा निर्णय भएको छैन । अहिले नै भन्न सकिने अवस्था रहेन ।’

संसदीय समितिले हालै एसईई परीक्षा खारेज गर्न निर्देशन दिए पनि कानुनी रुपमा स्पष्ट नहुँदासम्म हाल कायम रहेको शिक्षा ऐनको व्यवस्था अनुसार नै एसईई परीक्षा बोर्डले लिने गरी तयारी भइरहेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिएयता परीक्षाको मिति प्रभावित हुँदै आएको छ । बोर्डका अध्यक्ष शर्माले भने, ‘परीक्षा हुन्छ, विद्यार्थीहरुले आफ्नो तयारी गर्नु पर्छ । कहिले गर्ने वा कसरी गर्ने भन्ने बारे हामीले निर्णय लिन बाँकी छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*