बागमती प्रदेशको रेडियोहरुलाई नवीकरण शुल्कमा पूर्ण छुट

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशमा सञ्चालनमा रहेका एक हजार वाटसम्म क्षमता भएका रेडियोहरुको नवीकरण शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ । साथै रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने भएको छ ।

वाग्मती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले छुट दिने निर्णय गरेको वाग्मती प्रदेश सरकारका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिनुभयो ।

यो भन्दा अगाडि रोयल्टी बापत २ प्रतिशत दिनुपर्ने भए पनि अबदेखि भने १ प्रतिशत मात्र तिरे पुग्ने छ । केही समय अगाडि स्वतन्त्र रेडियोहरुको छाता सङ्गठन ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपालले नवीकरणको छुटको माग गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

बजेट भाषण मार्फत रेडियो इजाजत र लाइसेन्स नवीकरणमा पूर्ण छुट तथा रोयल्टीमा ५० प्रतिशत छुट दिने निर्णय गरेको केन्द्र सरकारले अहिलेसम्म पनि यसको कायान्वयन गरेको छैन । पुस मसान्तसम्म रेडियो इजाजत लाइसेन्स नवीकरण नगरे अनुमति पत्र खारेज हुने प्रावधान छ ।

प्रदेश सरकारको यो निर्णयले वाग्मती प्रदेशमा रहेका झण्डै एक सय रेडियोहरुले माघ महिनासम्ममा नवीकरण गर्ने अवसर पाउने सापकोटाले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*