तीन ठूला होटलको आईपीओ आउँदै

काठमाडौं – सर्वसाधारणबाट पुँजी संकलन गर्न होटल पनि सेयर बजारमा आकर्षित हुन थालेका छन् । हालसम्म ६ वटा होटलमात्र सर्वसाधारणलाई सेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएकोमा अब थप तीन होटलले पनि साधारण प्राथमिक सेयर (आईपीओ)जारी गर्ने प्रक्रिया अघि बढाएका छन् ।
पाँचतारे होटल काठमाडौं मेरियटले प्राइभेटबाट पब्लिक कम्पनीमा जाने निर्णय गरिसकेको छ भने होटल फेयर फिल्ड मेरियट होटल र अलफ्ट होटलले पनि पब्लिक कम्पनीमा गएर सर्वसाधारणको लागि सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएका छन् । यी तीन कम्पनीको सेयर जारी भएसँगै नेप्सेमा सूचीकृत पर्यटन तथा होटल समूहका कम्पनीको संख्या आधा दर्जनभन्दा बढी हुने । गत साता बसेको मेरियट होटलको बोर्ड बैठकले होटललाई प्राइभेटबाट पब्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरेको होटलका सञ्चालक शशीकान्त अग्रवालले जानकारी दिए ।

“होटल पब्लिक कम्पनीमा गएसँगै काठमाडौं मेरियट र फेयर फिल्ड मेरियट होटललाई प्राथमिक सेयर निष्कासन गर्ने बाटो खुल्नेछ,” अग्रवालले भने । पाँचतारे होटल काठमाडौं मेरियटको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ भने तीन तारे होटल फेयर फिल्डको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ । अलफ्ट होटलले पनि बोर्डबाट प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा गएर सेयर निष्कासनको लागि प्रक्रिया अगाडि बढाएको बताएको छ । सञ्चालक महेश्वर श्रेष्ठले सर्वसाधारणको लागि सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढेको बताए ।  “सेयर निष्कासन गर्नको लागि पब्लिक कम्पनीमा परिर्वतन गर्ने प्रक्रिया अगाडि बढेको छ, आगामी हप्तामै बिक्री प्रबन्धक कम्पनीसँग सेयर निष्काशनको लागि हस्ताक्षर गर्ने गरी काम भैरहेको छ,” उनले भने, “हाम्रो करिब १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । कुल पुँजीको करिब १० प्रतिशत सेयर सर्वसाधारणलाई निश्कासन गर्ने योजना छ ।”

हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका होटलको संख्या ६ छ । सोल्टी होटल, तारागाउँ रिजेन्सी (होटल हयात), ओरियन्टल रिजेन्सी होटल्स (होटल याडिसन) र चन्द्रागिरी हिल्सले कारेबार गरिरहेका छन् भने याक एण्ड यती होटलले कारोबार गरेको छैन । हाल नेप्सेमा सूचीकृत कम्पनीमध्ये सोल्टी होटलको ८ करोड ४२ लाख ५७ हजार कित्ता सेयर रहेको छ । कम्पनीको कुल सेयरमा १५ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ । यस्तै तारागाउँको १ करोड ८८ लाख ६६ हजार सूचीकृत रहेकोमा ४३ प्रतिशत सर्वसाधारणको हिस्सा छ ।

होटल ओरियन्टलको १ करोड १२ लाख ८० हजार सूचीकृत रहेको छ भने सर्वसाधारणको लागि ३० प्रतिशत सेयर हिस्सा रहेको छ । १ करोड ५३ लाख ४० हजार कित्ता सेयर जारी गरेको चन्द्रागिरी हिल्समा १२ प्रतिशत हिस्सा सर्वसाधारणको छ । यता सूचीकृत भएर पनि सस्पेन्ड रहेको याक एन्ड यती होटलको भने २२ लाख ९ हजार कित्ता सेयर सूचीकृत रहेको छ ।

आईपीओको लागि आवदेन दिनुअघि सेयरको साख (रेटिङ) मूल्यांकन गर्नुका साथै सेयर निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गर्नुपर्ने प्रावधान छ । धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि आवेदन दिएर बोर्डले स्वीकृति दिएपछि सावर्जनिक आह्वान गरी सेयर निष्काशन गर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*