नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको आर्थिक बृद्धिदर चालू आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

सरकारले चालू आर्थिक वर्षमा यस्तो बृद्धिदर ७ प्रतिशत गर्ने लक्ष्य लिएको भएपनि विश्व बैंकले भने सरकारले लिएको लक्ष्य भन्दा निकै कम आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ ।

यस्तो आर्थिक बृद्धिदर आगामी आव २०७९/८० मा भने पनि ४.७ प्रतिशत मात्रै हुने विश्व बैंकको अनुमान छ । गत वर्ष नेपालले आर्थिक बृद्धिदर जम्मा १.८ प्रतिशत मात्रै भएको अनुमान गरिएको छ ।

अघिल्लो आवमा भने महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो । महामारीका कारण अघिल्लो वर्ष नेपालको आर्थिक बृद्धिदर २०७६/७७ मा भने २.१ प्रतिशत ऋणात्मक थियो ।

यस अघि अर्थ सचिव मधु मरासिनीले पनि ७ प्रतिशतकै हाराहारीमा चालू आवमा नेपालको आर्थिक बृद्धिदर हुने दाबी गरेका थिए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने आर्थिक बृद्धिदर ६.५ प्रतिशत पुग्न पनि चुनौतिपूर्ण भएको तर्क पेश गरेका छन् । उनले सरकारले राखेको आर्थिक बृद्धिदर पूरा नहुने बताइरहेका छन् ।

महामारीको तेस्रो लहर शुरू भएको र यस अघि थलिएका क्षेत्र पुनःस्थापना नहुँदै फेरि अर्थतन्त्र महामारीको चपेटामा पर्न सक्ने देखिएकोले पनि सरकारले अनुमान भन्दा कम मात्रै आर्थिक बृद्धिदर हुने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*